नयाँ शैक्षिकसत्रको सुरुवातसँगै हेटाौंडा १ स्थित अमर माविमाा विद्यार्थीलाई वितरण गर्न तयार पारिएको पाठ्यपुस्तक मिलाईदै ।

हेटौंडाः कोभिडका कारण साविकभन्दा दुई महिनापछि विद्यालयहरुको नयाँ शैक्षिक सत्र सुरु भएको छ । संघीय शिक्षा मन्त्रालयको निर्णयबमोजिम असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको हो । मकवानपुर जिल्लामा पनि नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण तथा भर्ना, पाठ्यपुस्तक वितरण एवम् वैकल्पिक माध्यमबाट पठनपाठन सुरु भएको छ ।

जिल्लामा बैशाख १९ गतेदेखि लागू भएको निषेधाज्ञा जारी नै रहेको भए पनि अधिकांश निजी विद्यालयहरुले अनलाइनबाट पठनपाठन सुरु गरेका छन् । भौतिक उपस्थितिमा तत्काल पठनपाठन हुने सम्भावना नभएपछि निजी विद्यालयहरुले अनलाइनबाट विद्यार्थीलाई पढाउन थालेका हुन् ।

यसैगरी सामुदायिक विद्यालयहरुले पनि नयाँ शैक्षिक सत्रको सुरुवात भएसँगै विद्यार्थी भर्ना तथा अभिलेखीकरण गरेर पाठ्यपुस्तक वितरण गरिरहेका छन् । हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयले विद्यालयका करिब एक तिहाई विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसेको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । विद्यालयले असार ११ गतेभित्र पाठ्यपुस्तक वितरण र अभिलेखीकरण गरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट पठनपाठन गरिने उहाँले बताउनुभयो ।

कोरोना भाइरस संक्रमणका कारण विद्यालय बन्द भएको अवस्थामा भर्ना अभियानमा समस्या आएको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । विद्यालयमा अहिलेसम्म १० जना विद्यार्थीमात्र नयाँ भर्ना हुन आएको उहाँले जानकारी दिनुभयो । प्रायः विद्यार्थीसँग मोबाइल र इन्टरनेटको पहुँच नहुँदा सबै विद्यार्थीलाई भर्चुअलरुपमा पठनपाठन गर्न नसकिने हुँदा अन्य वैकल्पिक माध्यमबाट पठनपाठनको पनि तयारी भइरहेको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी, हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयले पनि असार १ गतेदेखि विद्यार्थी अभिलेखीकरण तथा पाठ्यपुस्तक वितरण सुरु गरेको छ । विद्यालयले विद्यार्थीको अभिलेखीकरण तथा भर्नासँगै पाठ्यपुस्तक वितरण गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले जानकारी दिनुभयो । विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठनका लागि आवश्यक तथ्यांक संकलन तथा विषयगत समिति निर्माण गरेर शैक्षिक सामग्री निर्माणस“गै प्रयोगशाला व्यवस्थापन सुरु गरेको उहाँले बताउनुभयो ।

विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि असार १३ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको सहायक प्रधानाध्यापक प्याकुरेलले बताउनुभयो । कक्षा ५ सम्मका विद्यार्थीका अभिभावकलाई गृहकार्यको प्याकेज वितरण गरी पठनपाठनलाई निरन्तरता दिइने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।