एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले हातले भ्याएपनि पोस्टबाहिर राख्न सकेनन् ।
पहिलो हाफमा एक गोलले पछि परेको चिलीले ५७ औं मिनेटमा खेल बराबरी गर्यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्न सफल भएका थिए ।
यससँगै कोपा अमेरिकाको समूह ए मा अर्जेन्टिना र चिलीले १–१ अंक जोडेका छन् । आज नै हुने समूहको अर्को खेलमा पाराग्वे र बोलिभिया भिड्नेछन् । यस समूहमा उरुग्वे पनि रहेको छ ।