Home मुख्य समाचार हावादारी नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौः सांसद जम्मकट्टेल

हावादारी नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौः सांसद जम्मकट्टेल

बागमती प्रदेश सांसद शालिकराम जम्मकटेल

हेटौंडाः बागमती प्रदेश सभामा शुक्रबारबाट आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ । छलफलमा भाग लिदै सांसद शालिकराम जम्मकट्टेलले हावादारी नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले विद्धानले लेखेको शब्दजालको नीति कार्यक्रम आएको भन्दै गुनगाई मात्र गाइएको बताउनुभयो।

एउटै कुरा धेरै बुँदामा दोहोरिएर आएको उहाँको भनाई छ । उहाँले छलफल नै नगरी बहुवर्षीय योजनाहरुको लागि बजेट सिलिङ जिल्ला जिल्लामा पठाएकोमा आपत्ति जनाउनुभयो ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न आफु विरोधी नभएको बताउँदै संघीय सरकारले पूर्वाधार विकास समितिलाई दिएको अनुमति खारेज नभई अगाडि बढ्न नहुने र मकवानपुर तथा काठमाडौंका नागरिकसँग शेयरको नाममा उठाइएको रकमको जिम्मा प्रदेश सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले कमिसनको चक्करमा नलाग्न पनि सरकारलाई आग्रह गरेका छन् । विद्युतीय सवारी खरिद प्रक्रिया अघि बढाएर जनताको पैसा नफसाउन उहाँले आग्रह गर्नुभयो । उपलब्धी नै नभएको नीति तथा कार्यक्रम समर्थन गर्न नसक्ने उहाँले स्पष्ट गर्नुभएको छ ।

यता सांसद राजेन्द्र पाण्डेले पनि सुरुङमार्ग निर्माण गरेर अहिले १८ अर्ब बजेट विनियोजन गरेर काम गर्नु उचित नभएको बताउनुभयो । यो सरकारको समय नभएकोले ११ महिनामा अर्को आउने सरकारले निरन्तरता दिन नसक्ने भएका कारण भीमफेदी कुलेखानी सुरुङमार्गमा प्राथमिकता नभएको बताउनुभयो । उहाँले बजेट विनियोजन गर्न आवश्कय नभएको बताउनुभयो ।

विद्युतीय बस संचालन गरेर सरकारले चालउने विषयमा पनि प्रतिस्पर्धाका बिचमा सरकारले विद्युतीय बस चलाउन नसक्ने उहाँले बताउनुभयो ।

सांसद मुनु सिग्देलले पनि विद्युतीय बस खरिद सरकारले गर्ने र चार्जिङ स्टेशन नीजि क्षेत्रलाई बनाउन दिने भन्दा पनि सरकारले चार्जिङ स्टेशन निर्माण गरेर नीजि तहलाई बस चलाउन दिनुपर्ने बताउनुभयो ।

सांसद प्रभाव तामाङले भने नीति तथा कार्यक्रम वैद्यता नआएको बताउनुभयो । उहाँले जेठ १४ मा प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गरेको र जेठ १५ मा अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी ७८÷७९ बजेट बक्तव्यलाई आधार मानेर नीति कार्यक्रम प्रस्तुत गरेकोले यसको वैद्यता प्रष्ट गर्न सरकारसँग माग गरे ।

सांसद रमेश पौडेलले पनि हावदारी नीति र कार्यक्रम आएकोले विश्वास योग्न नभएको बताउनुभयो ।

सांसद नरोत्तम वैद्यले भने आगामी वर्षमा सांसदहरुलाई बाड्ने ३ करोड र समानुपाति सांसदलाई दिने गरेको १ करोड रुपैयाँ बजेट विनियोजन नगर्न सुझाव दिनुभयो । उहाँले यो रकमले कोभिड भ्याकसिन किनेर प्रदेशबासीलाई लगाउनु पर्ने माग गर्नुभयो ।

सांसद विशाल खड्काले भने सुशासन फोकस नीति तथा कार्यक्रम नआएको भन्दै समर्थन गर्न नसक्ने बताउनुभयो ।

सांसद विराजभक्त महर्जनले प्रदेश सरकारले राजश्व बढाउने भनेर ल्याएको नीतिको विरोध गर्नुभयो । राजश्व बढ्दा महंगी बढ्ने हेक्का सरकारले नराखेको उहाँको भनाई थियो । कोभिड आम नागरिक थलिएको बेला सरकार राजश्व बढाउने तिर लागेको भन्दै सेवा दिने कुरा नगरेकोमा उहाँले आपत्ति जनाउनुभयो । संघ सरकार चुरेको ढुंगा गिटी बालुवा बेच्नुपर्छ भन्छ प्रदेश नीतिमा यसलाई बचाउनुपर्छ भनेर दुई चरित्र देखाएको उहाँले बताउनुभयो । गत ४ वर्षमा ल्याएको नीति कार्यक्रमको समिक्षा गरेर सार्थ नीति कार्यक्रम ल्याउनुपर्ने उहाँले जोड दिनुभयो ।

शुक्रबार ४५ सांसदहरुले छलफलमा बोलेका छन् । उनीहरुले आगामी नीति तथा कार्यक्रमबारे चर्का आलोचना गरेका थिए । लगातार पौने ५ घण्टा चलेको प्रदेश सभा वैठक शनिबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।

Exit mobile version