हेटौंडाः रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा हेटौंडामा निशूल्क खाना खुवाउने कार्य शनिबार पनि जारी छ । निशूल्क खाना खुवाउने कार्यको चौथो दिन शनिबार १९७ जनालाई खाना खुवाइएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभएको छ ।
शनिबार हुप्रचौरमा १०२ जना, हेटौंडा अस्पतालमा बिरामी कुरुवाका लागि ७० र घरमै रहेका २५ जना असहाय बिरामी गरी कुल १९७ जनालाई सेवा दिन सफल भएको अध्यक्ष सांगामीको भनाइ छ । यसैबीच रोटरी क्लबले निशूल्क खानाका साथै शनिबारबाट हेटौंडा अस्पतालमा उपचारारत बिरामीहरुका लागि निशुल्करुपमा बिहानको नास्ता (अण्डा र मुंगको दाल) वितरण गर्न सुरु गरिएको निशूल्क खाना कार्यक्रमका संयोजक शुक्र राज जोशीले जानकारी दिनुभएको छ ।
पहिलो दिन शनिबार कोभिड–१९ संक्रमित विरामी र कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीसहित ९२ जनाले बिहानको खाना सेवा प्राप्त गरेका छन् । रोटरी क्लबले सञ्चालन गरेको निशूल्क खाना तथा खाजा कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संघ, संस्थाले सहयोग समेत प्राप्त भइरहेको पनि कार्यक्रम संयोजक जोशीले बताउनुभएको छ ।