Home अर्थ/व्यापार बागमती प्रदेशसभाको बजेट अधिवेशन, माग पूरा नगरे विपक्षी दलले संसद चल्न नदिने

बागमती प्रदेशसभाको बजेट अधिवेशन, माग पूरा नगरे विपक्षी दलले संसद चल्न नदिने

हेटौंडाः बागमती प्रदेश सरकारलाई आगामी वर्षको प्रि–बजेट छलफल गर्ने वातावरण बनाउन निकै मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सत्तारुढ दल नेकपा एमालेभित्रकै माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई मनाउनेदेखि प्रदेशसभाका प्रतिपक्षी दलहरुको माग पूरा गर्नुपर्ने सकसमा प्रदेश सरकार देखिएको हो ।

चालु आर्थिक वर्षको बजेट पास गराउन पनि बागमती प्रदेश सरकारलाई निकै कसरत गर्नुपरेको थियो । अहिले आगामी आर्थिक वर्षको बजेट अधिवेशन चलाउन पनि उत्तिकै अप्ठेरो परिरहेको छ । यसकै लागि बागमती प्रदेश सरकार तथा नेकपा एमाले प्रदेश संसदीय बोर्डले काठमाडौंमा विपक्षी दल तथा एमालेकै माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुसँग छलफल गरेको छ ।

आइतबारदेखि बागमती प्रदेशको बजेट अधिवेशनको रुपमा आठौं अधिवेशन सुरु हुँदैछ । यसअघि सातौं अधिवेशनमा प्रतिपक्षको मागलाई सम्बोधन नगरेर सरकारले संसद अन्त्य गरेको थियो । लगातार चार पटकसम्म संसद अवरुद्ध गरेसँगै सरकारले प्रतिपक्षसँग छलफल÷ वार्ता नगरी संसद अन्त्य गरेको थियो । प्रदेशसभामा प्रतिपक्षका रुपमा रहेका नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेस अहिले पनि त्यही बेलाको मागमा अडिग देखिएका छन् ।

असार १ गते बजेट ल्याउनुपूर्व १५ दिनअघि संसदमा प्रि–बजेटबारे छलफल गर्नुपर्ने हुन्छ । तर प्रमुख प्रतिपक्ष दल माओवादीले भने आफ्नो पुरानो अडान कायम राखेकोे छ । प्रमुख प्रतिपक्ष दल माओवादीले सरकारले अघि बढाएको विद्युतीय बस खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेसनलाई कार्यविधि नै नबनाई ५० लाख दिने निर्णय फिर्ता लिन माग गरेको थियो । आफ्नो माग सम्बोधन नभएसम्म संसद चल्न गा¥है हुने माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल बताउनुहुन्छ ।

संसद चल्न समस्या हुने देखिएपछि मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार ललिपुरमा सर्वदलीय बैठक बोलाएर छलफल गर्नुभएको थियो । छलफलमा प्रदेश सरकार कोभिड रोकथाम र नियन्त्रण गर्न चुकेको भन्दै विपक्षी दलहरुले विरोध गरेका थिए । माओवादीले आफ्नो माग सम्बोधन नभए संसद चल्न नसक्ने बताएपछि उनीहरुको मागबारे मुख्यमन्त्री पौडेलले कुनै सहमति नगरेको बताइएको छ । बैठकमा मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिन मौखिकरुपमा प्रदेश सरकार सहमत देखिए पनि विद्युतीय बस खरिद प्रक्रिया रोक्ने पक्षमा सरकार छैन ।

यसबारे मुख्यमन्त्रीले संसदीय दलमा छलफल गरेर अघि बढ्ने बताएको माओवादी नेता जम्कट्टेलले जानकारी दिनुभयो । ‘सर्वदलीय बैठकमा संसद चलाउन कुनै सहमति भएको छैन । हामी हाम्रोे अडानमा कायम छौं । माग पूरा नभए संसद चल्न गार्‍है छ’, नेता जम्कट्टेलले भन्नुभयो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने अवस्था नभएको बताउनुहुन्छ । प्रदेश सरकारले विकासको गतिलाई पछाडि फर्काउन नहुने उहाँको तर्क छ । विद्युतीय बस खरिद प्रकरणमा कुनै त्रुटी भए सार्वजनिक लेखा समितिले संसदमा छलफल गर्न तयार भएको उहाँले बताउनुभयो । विद्युतीय बसले खनिजबाट चल्ने सवारीलाई विस्थापित गर्ने उहाँको भनाई छ । आगामी पुस्ताले यसको सुविधा लिन पाउनुपर्ने उहाँले बताउनुभयो । ‘जब बास्तविक काम गर्ने समय आयो, तब यसको विरोध भयो’, मन्त्री फुयाँलले भन्नुभयो ।

Exit mobile version