हेटौंडाः एमाले बागमती प्रदेशको शुक्रबार बसेको संसदीय दलको बैठकले ९ सदस्यीय सहजीकरण समिति निर्माण गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजटेलाई व्यवस्थित र सन्तुलन बनाउन ९ सदस्यीय समिति निर्माण गरिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा काठमाडौं बसेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका अष्टलक्ष्मी शाक्य सहित अन्य सांसदहरुको पनि उपस्थिति थियो ।
सहजीकरण समितिमा राजेन्द्र पाण्डे, अरुण नेपाल, रामेश्वर फुयाँल, कैलाश ढुंगेल, रमा आले, दिपक निरौला, केशव पाण्डे, नारायण सिलवाल र कृष्ण खनाल छन् । उनीहरुले तत्काल काम आरम्भ गर्ने संसदीय दलका मुख्यम सचेतक दिपक निरौलाले जानकारी दिनुभयो । प्रदेश सरकारलाई सन्तुलित र बजेट ल्याउन समितिले सुझाव दिने भएको छ ।
जेठ १६ गते आइतबार बस्ने प्रदेश सभालाई व्यवस्थित बनाउन एमालेका सांसदहरु एक ढिक्का भएका छन् । एमाले बागमती प्रदेश संसदीय बोर्डले माधव पक्षका १४ सांसदलाई स्पष्टिकरण सोधिएको विषयमा माधव पक्षका सांसदहरुले आफ्नो धारणा राखेका थिए । तर दलको बैठकमा सो छलफलको विषय नभएको मुख्य सचेतक निरौलाले बताउनुभयो । एमाले सांसदहरुले जनमुखि, सन्तुलित र कोभिड केन्द्रित बजेट ल्याउन बैठकमा जोड दिएका थिए ।