हेटौंडाः हेटौंडा अस्पतालमा कोभिड उपचारका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा कर्माचारीलाई पानी, जुस तथा पीपीई सेट सहयोग प्रदान गरिएको छ । हेटौंडा जेसीज र नेपाली कांग्रेस निकट कोभिड–१९ अनुुगमन समितिले अस्पतालका स्वाथ्यकर्मीहरुलाई पानी, जुस र पीपीई सेट सहयोग गरेको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पतालमा कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि हेटौंडा जेसीजले एक सय कार्टुन पानी र १० कार्टुन जुुस सहयोग गरको छ । शुक्रबार अस्पताल परिसरमै पुगेर जेसीजका पदाधिकारीहरुले सामग्री हस्तान्तर गरेका हुन् । हस्तान्तरण कार्यक्रममा हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेत, कार्यकारिणी उपाध्यक्ष मनोज रिजाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रवीण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति मकवानपुरका संयोजक उत्सव इटेनीले प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंलाई २५ था पीपीई सेट हस्तान्तरण गर्नुभएको छ । हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पुनः प्रयोग गर्न मिल्ने पीपीई हस्तान्तरण गरिएको हो । कार्यक्रममा औषधी व्यवसायी संघ बागमती प्रदेश सदस्य सुधीर दाहाल, तरुण दल क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, नगर अध्यक्ष सुनिल गिरी, समितिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।