Home मुख्य समाचार हेटौंडा अस्पतालमा कोरोना संक्रमितलाई आईसीयू, बिरामीका कुरुवालाई भने बेवास्ता गरिएको गुनासो

हेटौंडा अस्पतालमा कोरोना संक्रमितलाई आईसीयू, बिरामीका कुरुवालाई भने बेवास्ता गरिएको गुनासो

हेटौंडा अस्पतालको आइसियू वार्ड बाहिरको पेटिमा आफ्नो बिरामीलाई कुर्दै कोरोना संक्रमितका आफन्त । तस्बिरः आरबी पौडेल

हेटौंडाः हेटौंडामा कोरोना संक्रमित भएका जटिल बिरामीलाई राख्नका लागि हेटौंडा अस्पतालमा छुट्टै आईसीयूको व्यवस्था गरिएको छ । संक्रमित बिरामीको राम्रै उपचार भएपनि बाहिर बिरामी कुर्न बसेका आफन्त भने कस्तो अवस्थामा छन् भन्ने कसैको ध्यान गएको छैन ।

अस्पताल बाहिर आफ्नो बिरामीका लागि बसेका कुरुवाहरुलाई दिनमा भन्दा पनि रातको समयमा अझै समस्या हुने गरेको छ । अस्पतालले कुरुवाको लागि कुनै पनि व्यवस्था नगरिदिँदा आफन्तहरु अस्पताल बाहिरको पेटीमा रात बिताउन बाध्य भएका छन् । कोरोना संक्रमणको डर त छँदै छ, हालको समयमा खुला स्थानमा र अझ भन्नुपर्दा अस्पतालको बरन्डा र पेटीमा रात बिताउन बाध्य आफन्तहरु डेङ्गु, मलेरियालगायतको रोगले आफैंलाई सताउने हो कि भन्दै गुनासो गरेका छन् ।

कोरोना संक्रमित ५० वर्षीय भाइलाई आईसीयूमा भर्ना गरेर बाहिर कुरेर बस्नुभएकी हेटौंडा–४ की मन डीसीले दिनभरी बाहिर पेटीमा बस्नु परेको र रातमा पनि अस्पताल बाहिरको बरन्डामा सुत्ने गरेको बताउनुभयो । कोरोना संक्रमित बिरामी उपचार गर्न आईसीयूको व्यवस्था हेटौंडामा नै हुनु सबैभन्दा राम्रो काम भएको उहाँले बताउनुभयो । तर बिरामी कुरुवाका लागि भने एउटा बेन्चको पनि व्यवस्था नहुँदा समस्या भइरहेको उहाँको भनाई छ ।

आफ्नो भाइलाई बैशाख १ गतेदेखि नै ज्वरो आएको र पानीले भिजेको कारणले ज्वरो आएको होला भनेर सामान्यरुपमा लिइएको डीसीले बताउनुभयो । ५ गते निजी अस्पतालमा जचाउँदा टाइफाइट देखिएको उहाँले जानकारी दिनुभयो । केही दिन औषधी प्रयोग गर्दा पनि ज्वरो कम नभएपछि छातीको एक्सरे जाँच गर्दा निमोनिया देखिएपछि सिटी स्क्यान गर्दा कोरोना देखिएको उहाँले बताउनुभयो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हेटौंडा अस्पताल ल्याउँदा अस्पतालले भर्ना लिन नमानेको उहाँले जानकारी दिनुभयो ।

त्यसपछि चुरेहिल अस्पताल लग्दापनि भर्ना लिन नमानेपछि समाचारबाट हेटौंडा अस्पतालमै आईसीयू बन्दै गरेको थाहा पाएर पहिलो बिरामीको रुपमा आफ्नो भाइलाई भर्ना गरिएको उहाँको भनाई छ । भर्ना गरेपछि कोरोना परीक्षण गर्दा संक्रमण देखिएको डीसीले बताउनुभयो । हाल भाइको स्वास्थ्यमा सुधार आएको भनेर जानकारी आएपछि आफूले बाहिर झेल्नुपरेको समस्यालाई भुलेर केही खुसी मिलेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामीको उपचार सबै डाक्टर नर्सले सुरक्षितसाथ गर्नुहुन्छ । सन्तोषजनक व्यवहार गर्नुहुन्छ । हेटौंडामा यस्तो सुरक्षित उपचार पाउँदा खुसी लाग्छ, तर हामी बिरामी कुरुवा भने दिन–रात नै अस्पतालको पेटीमा बस्नुपर्ने अवस्था रहेको छ ।’

आफ्नी ६८ वर्षीया आमालाई कोराना संक्रमणकै कारण आईसीयूमा भर्ना गर्नुभएका हेटौंडा–५ का मिलनकुमार कार्कीले पनि अस्पतालबाहिर कुरुवाको रुपमा उस्तै समस्या झेल्नुपरेको बताउनुभयो । दमको बिरामीसमेत हुनुभएको आमालाई शनिबारबाट श्वासप्रश्वासमा समस्या भएपछि हेटौंडा अस्पतालमा ३ दिनसम्म आकस्मिक कक्षमा राख्नुपरेको कार्कीले जानकारी दिनुभयो । सो क्रममा कोरोना जाँच गराउँदा संक्रमण देखिएपछि मंगलबार आईसीयूमा सारिएको र अहिले अक्सिजन लगाएर राखिएको बताउनुभयो ।
हेटौंडा अस्पतालको आईसीयूमा हाल १० जनालाई अक्सिजन दिएर उपचार भइरहेको छ । बिहीबार ९ जना उपचाररत रहेकोमा एकजना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भए पनि साँझ पुनः २ जना थपिएका हुन् । जसमध्ये ९ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना महोत्तरी जलेश्वरबाट रिफर भएर उपचारका लागि हेटौंडा ल्याइएको हो ।

आईसीयूमा रहेका सबैलाई अक्सिजन दिएर राखिएको उपचारमा खटिनुभएकी डा. नेहा गुप्ताले जानकारी दिनुभयो । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई भेन्चुरी अक्सिजन प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै १ जना बिरामीलाई भने हेटौंडाबाट चितवन रिफर गरिएको जनाइएको छ । अन्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको डा. गुप्ताले जानकारी दिनुभयो ।

मकवानपुरमा बिहीबारसम्म कोभिड–१९ का सक्रिय संक्रमितको संख्या २ सय ९३ जना छन् । जसमा २ सय ७८ जना होम आइसोलेसन, १० जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा र ६ जना हेटौंडा ६ स्थित गौरीटार आइसोलेसनमा उपचाररत रहेका छन् ।

Exit mobile version