Home मुख्य समाचार २६ सय लाभग्राही सम्झौता गर्नै आएनन्

२६ सय लाभग्राही सम्झौता गर्नै आएनन्

आइतबार भूकम्पपछिको पुनर्निर्माणको विषयमा आयोजित समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल ।

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लामा भूकम्पपछि विद्यालय र निजी आवासको भवनको पुनर्निर्माण सन्तोषजनक भएको बताउनुभएको छ । उहाँले भूकम्पले अब बन्नुपर्ने भवनहरु भूकम्पप्रतिरोधी हुनुपर्ने सन्देश गएको बताउनुभयो ।

२०७२ सालको भूकम्पपछि मकवानपुरमा निजी आवास पुनर्निर्माण गर्न लाभग्राही सूचीमा परेका २ हजार ६ सय ७६ लाभग्राही सम्झौता गर्नै आएनन् । २०७२ सालको भूकम्पले जिल्लामा ३७ हजार ५ सय ५ घरमा भपूर्ण क्षति पुर्‍याएको थियो भने १० हजार २ सय ४७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । भूकम्पले पूर्ण क्षति बनाएको ३७ हजार ७ सय ५२ लाभग्राहीमध्ये ३५ हजार ७६ लाभग्राहीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास बनाउन सम्झौता गरेका छन् । यस्तै प्रवलीकरणतर्फ १० हजार २ सय ४७ घर पहिचान भएकामध्ये ८ हजार १ सय १५ लाभग्राहीले मात्रै सम्झौता गरेका छन् । प्रवलीकरणतर्फ आंशिक क्षति भएका २ हजार १ सय ३२ लाभग्राही सम्झौता गर्नै नआएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख बिमल किशोर केपीले बताउनुभयो ।

पूर्ण क्षतिमा पहिचान भएर सम्झौता भएका ३५ हजार ७६ लाभग्राहीमध्ये ३४ हजार ३ सय ३२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । यस्तै दोस्रो किस्ता २७ हजार ६ सय ८३ जनाले र तेस्रो किस्ता २३ हजार ३ सय ४१ जनाले लिएका हुन् । समग्रमा मकवानपुर जिल्लामा ९३ प्रतिशत लाभग्राहीहरुले निजी आवास निर्माण गरेको प्रमुख केपीले बताउनुभयो । मकवानपुर जिल्लामा भूकम्पले आशिंक क्षति पुर्‍याएको प्रवलीकरणतर्फ ८ हजार ७ सय ९९ जनाले पहिलो किस्ता लिएका थिए । तर उनीहरुमध्ये एक प्रतिशत अर्थात् १ सय ७ जनाले मात्रै दोस्रो किस्ता लिएका छन् ।

भूकम्पले क्षति पु¥याएको घर प्रवलीकरण गर्न लाभग्राहीहरुले नरुचाएको उहाँले बताउनुभयो । प्रवलीकरणतर्फका ५ हजार लाभग्राहीहरुले भवनको पुनर्निर्माण गर्ने भएका छन् । अन्य ३५ सयले भने सामान्य मर्मत गर्ने भएको उहाँले जनाउनुभयो । भूकम्पले क्षति पुर्‍याएको भवनहरुको प्रवलीकरण गर्न महंगो हुने भएकाले लाभग्राहीहरुले रिुच नदेखाएको उहाँको भनाई छ । यस्तै जिल्लामा भूकम्पमा क्षति भएको तर प्राधिकरणका इन्जिनियर पुग्नुपूर्व नै घर निर्माण गरेका ६ सय २२ जनालाई पहिलो, दोस्रो र तेस्रो किस्ता एकमुष्ठरुपमा ३ लाख ५० हजार उपलब्ध गराइएको छ । जिल्लामा निजी आवासतर्फ १ अर्ब २२ करोड रुपैयाँ खर्च भएको प्रमुख केपीले बताउनुभयो । यही असार मसान्तसम्म निजी आवास निर्माणको सम्पूर्ण कामहरु सक्ने उहाँले जानकारी दिनुभयो । छिटपुट बाँकी रहेको निजी आवास निर्माणको काम असारपछि भने स्थानीय सरकारलाई हस्तान्तरण हुने उहाँको भनाई छ ।

३०५ विद्यालयको पुनर्निर्माण सम्पन्न
मकवानपुर जिल्लामा २०७२ सालको भूकम्पपछि विद्यालयहरुको भौतिक संरचनामा ब्यापकरुपमा परिवर्तन भएको छ । भूकम्पप्रतिरोधी, बालमैत्री, अपाङ्गमैत्री विद्यालयका भवनहरु बनेका हुन् । जिल्लामा भूकम्पबाट क्षति भएको ५ सय १६ विद्यालयमध्ये हालसम्म ३ सय ५ विद्यालयको पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । जिल्लामा विद्यालयको भवन, शौचालय, खानेपानी निर्माणमा २ अर्ब ७१ करोड खर्च भइरसकेको जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्री पाठकले जानकारी दिनुभयो । भवनको आवश्यकता परिपूर्ति भएपनि त्यसको संरक्षण र सम्बर्धनमा स्थानीय सरकारले पनि चासो देखाउनुपर्ने उहाँको भनाई छ । ‘भूकम्पपछि बनेका भवनहरुमा रंगरोगन गर्नसमेत विद्यालयको आर्थिक अवस्थाले पुग्दैन’, उहाँले भन्नुभयो ।

Exit mobile version