Home मुख्य समाचार सुस्मिता केसीको हत्यासम्बन्धी मुद्धा, सोमबारका लागि पेशी तोकियो

सुस्मिता केसीको हत्यासम्बन्धी मुद्धा, सोमबारका लागि पेशी तोकियो

हेटौंडाः देशव्यापी चर्चामा आएको सुस्मिता केसी (थापा) को हत्यासम्बन्धी मुद्धाकोे पेशी सोमबारका लागि तोकिएको छ । जिल्ला अदालत मकवानपुरले चैत ९ गते सोमबारका लागि मुद्धाको सुनुवाईका लागि पेशी तोकेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

सुस्मिता हत्यासम्बन्धी मुद्धामा थापाको तर्फबाट थुप्रै कानुन व्यवसायीले बहस गर्दै आएका छन् । अधिवक्ता मदन दाहालको अगुवाईमा केसीको पक्षमा २० जना कानुन व्यवसायीले बहस गरिरहेको छ । सुस्मिताको हत्याको आरोप लागेकाहरुविरुद्ध आवश्यक प्रमाण जुटिसकेको हुँदा अब छिटै मुद्धाको फैसला हुने बताइएको छ ।

हेटौंडा–४, कर्रास्थित सूर्यचोकमा आफ्नै घरमा केसीको हत्या भएको थियो । गत असार १ गते राति उनको हत्या भएको थियो । सुस्मिताको हत्यामा परिवारका सदस्यकै संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएपछि हत्या भएको करिब दुई हप्तापछि परिवारका सदस्यहरु पक्राउ परेका थिए ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सुस्मिताका ससुरा, सासु, नन्द र आमाजुलाई पक्राउ गरी थुनामा राखेको छ । सुस्मिताको ससुरालाई भीमफेदी कारागारमा राखिएको छ भने अन्य सदस्यहरुलाई चितवनको भरतपुर कारागारमा राखिएको छ । यस्तै हत्यामा संलग्नको आशंका गरिएका एकजना भने अहिलेसम्म फरार नै रहेका छन् ।

Exit mobile version