Home खेलकुद चौँथो बागमती राष्ट्रिय गोल्डकपको पुरस्कार राशी बढ्यो

चौँथो बागमती राष्ट्रिय गोल्डकपको पुरस्कार राशी बढ्यो

हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा यही चैत्र १३ गतेदेखि २३ गतेसम्म चौँथो बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चौँथो बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ ।

गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

यही चैत्र १३ गतेबाट आयोजना हुने चौँथो बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ८ लाख र उपविजेता बन्ने समूहले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

वि.सं. २०७४ सालबाट बागमती गाउँपालिकामा बागमती राष्ट्रिय गोल्डकपको सुरुवात भएको हो । बागमती राष्ट्रिय गोल्डकपको पुरस्कार राशी वर्षेपिच्छे बढाउँदै लगिएको बागमती खेलकुद विकास समितिका अध्यक्ष भिमबहादुर राईले बताए ।

गोल्डकपको पहिलो संस्करणको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । यस्तै दोस्रो संस्करणको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार, तेस्रो संस्करणको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

बागमती–८ को जनता माविको खेलमैदानमा हुने चौँथो बागमती राष्ट्रिय गोल्डकपको लागि बागमती गाउँपालिकाले ३५ लाख उपलब्ध गराउने भएको छ । खेलमा ७४ लाख खर्च हुने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको हो ।

खेलमा ए डिभिजन क्बल ५ वटा, आयोजक टिम एक, जिल्ला तथा प्रदेश स्तरीय क्लब ४ वटा गरी जम्मा १० वटा टिमले सहभागिता जनाउँनेछन् । प्रतियोगितामा सहभागि हुने क्लबहरुको भने टुङ्गो लागिनसकेको आयोजकले जनाएको छ ।

Exit mobile version