Home मुख्य समाचार मकवानपुर टेक्निकल इन्स्टिच्युटको रजतजयन्ती, शिक्षालाई सिकाइमा रुपान्तरण आवश्यकः मुख्यमन्त्री पौडेल

मकवानपुर टेक्निकल इन्स्टिच्युटको रजतजयन्ती, शिक्षालाई सिकाइमा रुपान्तरण आवश्यकः मुख्यमन्त्री पौडेल

हेटौंडाः हेटौंडा–५, भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्स्टिच्युटले २५ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम गरी रजतजयन्ती मनाएको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा इन्स्टिच्युटले २५ औं वार्षिकोत्सवमा विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले अहिले देशमा सिक्ने खालको शिक्षाको सट्टा सिकाउने शिक्षा आवश्यक रहेको बताउनुभयो । संंघीय सरकारले ल्याएको शिक्षा नीति गलत रहेको भन्दै मुख्यमन्त्री पौडेलले अबको शिक्षा पढाइमा निहित नभई सिकाइमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । प्राविधिक र सीपमूलक शिक्षाले नै विद्यार्थीलाई दक्ष बनाई रोजगार हासिल गर्न सकिने भएकाले प्राविधिक शिक्षाकोे विकास र विस्तारमा सरकारले पनि बजेट विनियोजन गरिरहेको उहाँले बताउनुभयो ।

नेपालमा विभिन्न तहमा शिक्षा हासिल गर्ने अनि प्रमाणपत्र सिरानीमा हालेर बस्नुपर्ने बाध्यता रहेको अवस्थामा प्राविधिक शिक्षा महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले सोही अनुरुप दक्षजनशक्ति उत्पादन गरी स्वरोजगार बनाउनुपर्नेमा जोड दिनु हुँदै प्राविधिक शिक्षा लिएकाहरु ८३ प्रतिशत रोजगारमा संलग्न रहेको र साधारण शिक्षा हासिल गर्नेहरु अधिकांश कामविहीन रहेको मुख्यमन्त्री पौडेलको दावी थियो ।

अब हेटौंडामै दक्ष जनशक्ति उत्पादनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न एडभान्स कक्षा सञ्चालनको तयारी गरिरहेको बताउँदैै मुख्यमन्त्री पौडेलले विभिन्न जिल्लाहरुका स्थानीय तहहरुमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको बताउनुभयो । बाागमती प्रदेशमा मात्रै यसवर्ष सानाठूला गरी एक सय ९ वटा अस्पातल शिलान्यास भई निर्माण भइरहेकोले स्वास्थ्य क्षेत्रका थप जनशक्ति आवश्यक पर्ने उहाँले बताउनुभयो । प्राविधिक शिक्षापश्चात् रोजगारीको सम्भावना पर्याप्त रहने भन्दै मुख्यमन्त्री पौडेलले इन्स्टिच्युटलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रहसमेत गर्नुभयो ।

इन्स्टिच्युटले स्थापनाको रजतजयन्तीको अवसरमा हेटौंडा–५ क्याम्पाडाँडामा निर्माण भइरहेको खेल मैदानका लागि ५० बोरा सिमेन्ट सहयोग गरेको छ । यस्तै, हेटौंडा अस्पताल र मदन भण्डरी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ थान बीपीसेट पनि प्रदान गरेको छ । कार्यक्रममा पूर्वविद्यार्थी, लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मी, शिक्षक र छात्रवृत्तिमा पर्न सफल विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको हो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुर टेक्निकल इन्स्टिच्युटका अध्यक्ष रमानन्द झाको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा अस्पातल विकास समितिका अध्यक्ष प्रकाश पौडेललगायतको उपस्थिति थियो ।

Exit mobile version