Home खेलकुद बागमती फुटलब प्रतियोगिताः आयोजक फाइनल प्रवेश

बागमती फुटलब प्रतियोगिताः आयोजक फाइनल प्रवेश

हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा जारी खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक ग्रामीण बहुउद्देश्यीय समाज नेपाल प्रवेश गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिकाको झुरझरे खेल मैदानमा मंगलबार भएको सेमिफाइनल खेलमा पारिजात युवा क्लब बकैयालाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो । अब आयोजकले फाइनलमा बकैया–५ र करौजे युवा क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

ग्रामीण बहुउद्देश्यीय समाज नेपालको आयोजनामा बागमती झुरझुरे खेल मैदानमा जारी प्रतियोगितामा आयोजकका तर्फबाट जर्सी नम्बर ११ का प्रयास तामाङले खेलको ४९ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई आग्रह लिएका थिए । आयोजकको जितमा गोलरक्षक गणेश राईको भूमिका पनि महत्वपूर्ण रह्यो । उनले खेलभर पारिजातका आधा दर्जनभन्दा बढी प्रहार बचाएका थिए । दर्शकको व्यापक समर्थन पाएको आयोजकले पहिलो हाफको तुलनामा दोस्रोमा उत्कृष्ट खेल खेलेको थियो ।

दोस्रो हाफमा आयोजकमाथि पारिजातले दबाब सिर्जना गरेको थियो । पारिजातका गोलरक्षक बिक्रम नेगीले खेलभर आयोजकका आधा दर्जनभन्दा बढी प्रहार बचाएका थिए । खेलको ६० औं मिनेटमा आयोजकका अमिर श्रेष्ठले अर्को गोल गर्दै फाइनलको तय गरेका थिए भने पुनः आयोजककै राज भुसालले ६२ औं मिनेटमा गोल गर्दै फाइनलको ढोका खोलेका हुन् ।

पारिजातका हिसुब थपलियाले ६४ औं मिनेटमा एक गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् । पारिजातले गोल गर्ने केही राम्रा अवसरको सदुपयोग गर्न नसक्दा फाइनल यात्रामा पूर्णविराम लाग्न पुग्यो । खेलको म्यान अफ द म्याच आयोजकका गोल रक्षक गणेश राई भएका थिए ।

प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Exit mobile version