फाइल तस्बिर ।

हेटौंडाः नगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ साविक विजेता १९ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा १९ नम्बर वडाले १२ नम्बर वडालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै फाइनल प्रवेशका लागि शनिबार वडा नम्बर ९ र १७ बीच खेल हुनेछ ।

यता पुरुषतर्फ भने १९ नम्बर वडाले २ नम्बर वडाविरुद्ध उजुरी दर्ता गरेको छ । वडाभन्दा बाहिरको खेलाडीलाई खेलाएको भन्दै १९ नम्बर वडाले उजुरी दिएपछि आयोजकले २ नम्बर वडालाई टिममा समावेश गरेका खेलाडीको विवरण माग गरेको छ । आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाका अनुसार १९ नम्बर वडाको उजुरीपछि २ नम्बर वडालाई खेलाडीको स्थायी ठेगाना पुष्टी हुने कागजात पेश गर्न भनिएको छ । २ नम्बर वडाले खेलाडीको ठेगाना पुष्टि गर्न नसके १९ नम्बर वडा विजयी हुनेछ ।

पुरुषतर्फ वडा नम्बर ५, ११ र १७ सेमीफाइनल प्रवेश गरिसकेको छ । सेमीफाइनल र फाइनल खेल शनिबार हुनेछ । हुप्रचौरमा जारी प्रतियोगितामा महिलातर्फ १० वटा वडा र पुरुषतर्फ १३ वटा वडाको टिम सहभागी भएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ र दोस्रो स्थान हासिल गर्ने टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।