Home मुख्य समाचार आर्थिक समस्याले पढाई छाड्नु पर्दैनः मेयर महत

आर्थिक समस्याले पढाई छाड्नु पर्दैनः मेयर महत

हेटौंडाः हेटौंंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले मंगलबार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका ४ सय १४ जना छात्राहरुलाई ४ सयका दरले र कक्षा १ देखि १० सम्मका ८९ जना दलित विद्यार्थीलाई पनि ४ सयका दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनै पनि विद्यालयका विद्यार्थीले आर्थिक अभावले पढाई छाड्नु नपर्ने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका कारण पढाई छाड्नुपर्ने अवस्था आएमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्तबहादुर विकको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक वीरवंश बैठा तथा शिक्षकहरुको उपस्थिति थियो । विद्यालयले छात्रवृत्तिबापत ५ सय ३ जना विद्यार्थीलाई २ लाख १ हजार २ सय रुपैयाँ वितरण गरेको हो । कार्यक्रममा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापअन्तर्गत् नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

Exit mobile version