हेटौंडाः सिरहा जिल्लामा जारी दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता हेटौंडाको एफसी मुण्डियाल सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो खेलमा भारतको कलकता फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै एफसी मुण्डियाल सेमीफाइनल प्रवेश गरेको हो ।
एफसी मुण्डियालका लागि अफ्रिकी खेलाडी योहोले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा २ गोल गरेका योहोले दोस्रो हाफमा पनि १ गोल गर्दै ह्याट्रिक पूरा गरे । योहो म्यान अफ द म्याच घोषित भए । सिराहा जिल्ला फुटबल संघले आयोजना गरेको गोल्डकपको सेमीफाइनलमा एफसी मुण्डियालले काठमाडौंको चर्चब्वाइज क्लबसँग बुधबार खेल्ने एफसी मुण्डियालका प्रशिक्षक सुविन घिमिरेले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।