Home मुख्य समाचार दाहाल–नेपाल समूहको नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी

दाहाल–नेपाल समूहको नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको मकवानपुर जिल्ला अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेमबहादुर पुलामीलाई जिम्मेवारी दिइएको छ । नेकपा दाहाल–नेपाल समूहले मकवानपुरसहित ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । पार्टीमा विभाजन हुनुअघि पनि मकवानपुरमा पार्टीको अध्यक्षमा सिग्देल र सचिवमा पुलामी हुनुहुन्थ्यो । नेकपा ओली समूहले भने नेकपा मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ र सचिवमा लालबहादुर थापालाई चयन गरेको छ ।

फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यसैअनुसार फागुन ७ गते संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवम् आधार तयार पारेको थियो । सामान्यतया पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी मापदण्ड बनाएको थियो । त्यसैअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा फागुन ७ मा जारी परिपत्रमा ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएका हुन् ।

बाँकी जिल्ला र अन्य पदाधिकारी भने अदालतको फैसलापछि टुंगो लगाउने तयारी यो समूहले गरेको छ । नेकपा विभाजनपछि ओली समूहमा लागेका नेताका पद अहिले रिक्त थिए । यसअघि दाहाल नेपाल समूहले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज भने तोकिसकेको छ ।

Exit mobile version