हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ बालिकासहित ६ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, नुवाकोट, रामेछाप र चितवन जिल्लामा ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
धादिङको निलकण्ठ नगरपालिका– १२ साङकोष आपसराकी ५९ वर्षीय फुलमाया नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बिहान धादिङ जिल्ला अस्पतालमा उनकी मृत्यु भएको प्रहरी जनाएको छ । गत फागुन २५ गते आफ्नै घरको आँगनमा लडी उनी घाइते भएका थिए । ट्रमा सेन्टर काठमाडौंमा उपचारपश्चात उनलाई चैत २९ गते जिल्ला अस्पताल धादिङ ल्याइएको थियो ।
चितवनको राप्ती नगरपालिका –१० थामटारमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । स्थानिय ५६ वर्षीय राम बहादुर घलान आईतबार बिहान घर नजिकैको सत्यदेवी सामुदायिक वनमा घाँस काट्ने क्रममा डुम्रीको रुखबाट लडी घाइते भएका थिए । घलानलाई पुरानो मेडिकल कलेज भरतपुरका डाक्टरले आईतबार बिहान ८ बजेर ४४ मिनेटको समयमा मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । चितवनकै भरतपुर महानगरपालिका –१४ स्थित प्रगति टोलमा पानीमा एक बालिकाको मृत्यु भएको छ । स्थानिय शिव बहादुर विककी १ वर्षीय छोरी समृद्धि विकको आफ्नै घरमा रहेको पानीको बाल्टिमा डुबि मृत्यु भएको हो ।
यस्तै, आइबार साँझ पानीसँगै परेको चट्याङ लागेर रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका –४ हुगांमा एक बालिकाको मृत्यु भएको छ । चट्याङ लागेर स्थानीय सोम बहादुर तामाङकी ९ वर्षीय छोरी सुनमाया तामाङको मृत्यु भएको हो । रामेछाप जिल्लाकै रामेछाप नगरपालिका –४ हिमगंगामा बारीको डिलबाट लडी घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानिय १० वर्षीय मनिषा श्रेष्ठ आफ्नै बारीमा बाख्रा चराउने क्रममा बारीको डिलबाट लडी घाईते भएका थिए । जिल्ला अस्पताल रामेछापमा आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी नुवाकोटको लिखु गाउँपालिका –३ स्थित भलादमी डाँडामा आफ्नै घरको आँगनमा लडी एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५५ वर्षीय सुब्बा राईको आफ्नै घरको आँगनमा लड्दा मृत्यु भएको हो
