Home मुख्य समाचार कांग्रेसलाई अब चिन्ता होइन, चिन्तन आवश्यक छ : सभापति थापा

कांग्रेसलाई अब चिन्ता होइन, चिन्तन आवश्यक छ : सभापति थापा

निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति गगनकुमार थापा ।

हेटौँडा : नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनको नतिजापछि पार्टीभित्र हारको चिन्ता भन्दा पनि भविष्यको चिन्तन आवश्यक रहेको बताएका छन् । उनले निर्वाचनको नतिजाले काँग्रेसलाई नयाँ अवसर र चुनौति दिएको बताए ।

काँग्रेस केन्द्रीय समितिको आयोजना तथा बागमती प्रदेश समितिको व्यवस्थापनमा हेटौँडामा आयोजित निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै सभापति थापाले समीक्षाको अर्थ गल्ती खोज्नु मात्र नभई आगामी यात्रा तय गर्नु रहेको बताए । उनका अनुसार काँग्रेस देश सम्हाल्ने पार्टी भएकाले हार र जितको नतिजाबाट विचलिन हुँदैन । काँग्रेस प्राप्त नतिजाको गहन समीक्षासहित आगामी कार्यदिशामा अग्रसर भएको उनको भनाई छ ।

कहिलेकाहीँ देश जित्नका लागि पार्टीले हार व्यहोर्नुपर्ने स्थिति आउने उनले बताए । निर्वाचनमा हार–जित प्राविधिक विषय भएकाले देशको लोकतन्त्र र ट्र्याक सही ल्याउन गत फागुनको निर्वाचनको पक्षमा काँग्रेस रहेको उनले बताए । उक्त निर्वाचनमा काँग्रेस हारे पनि देशले जितेर व्यवस्था सही ट्र्याकमा रहेको उनले बताए । उनले देशमा विधिको शासन कायम गर्न काँग्रेसको महत्वपूर्ण भूमिका रहेको बताए । विधिको शासनमा कोही पनि कानूनभन्दा माथि नहुने सभापति थापाले बताए ।

‘अहिलेको परिस्थितिमा हामीसँग दुईवटा विकल्प छन् । चिन्ता गर्ने वा चिन्तन गर्ने । चिन्ताले समस्या मात्र देखाउँछ र अरुलाई दोष दिन सिकाउँछ । तर चिन्तनले समाधान खोज्न प्रेरित गर्छ । काँग्रेसलाई अहिले चिन्तनको खाँचो छ ।’ उनले भने, ‘प्रधानमन्त्री होस् वा काँग्रेस पार्टी सभापति राज्यले अनुसन्धान गर्छु भन्दा सबैले सहयोग गर्नुपर्छ । २०४८ सालयता सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने र दोषी देखिएकाको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’

राज्यले विधिको शासन पालना गर्दै गरेको अध्ययन अनुसन्धानको विरोधमा कुनै काँग्रेस सडकमा नआउने बताए । उनका अनुसार काँग्रेस पार्टीको सभापति (स्वयम् म) नै छानविनको दायरामा परे भने पनि केही काँग्रेस विरोधमा नउठ्ने उनले दावी गरे । तर, काँग्रेस लोकतन्त्र र विधिको शासन पालना राज्यपक्षबाट हुनुपर्नेमा अडिग रहेको उनको भनाई छ । उनले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेकाले २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरे ।

सभापति थापाले पार्टीको सदस्य भएर चुनावमा अर्को पार्टीलाई भोट हाल्न नपाइने बताए । उनले पार्टीलाई २००७ सालको जस्तै क्रान्तिकारी, २०४६ सालको जस्तै लोकप्रिय र २०७० सालको जस्तै भरोसायोग्य बनाउन इतिहासबाट पाठ सिक्नुपर्नेमा जोड दिए । ‘आम भोटरले जसलाई पनि हाल्न सक्छ । तर पार्टीको क्रियाशील सदस्यले विधान मान्नुपर्छ । काँग्रेसको सदस्य रहने हो भने काँग्रेसकै रुख चिन्हमा मतदान गर्नुपर्छ । मत हाल्दिन भन्न पाइन्न् ।’ उनले भने ।

सभापति थापाले अब काँग्रेसमा विशेष महाधिवेशनको बहसलाई अन्त्य भएको र सबै एकजुट भई १५औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताए । उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकहरुलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारीमा अघि बढ्नु पर्ने बताए ।

Exit mobile version