हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविको ४२ औं वार्षिकोत्सव सुरु भएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना हुने वार्षिकोत्सव समारोहमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विद्यार्थीबीच प्रतियोगितात्मक खेलकुद समेत आयोजना गरिँदैछ । यस्तै विद्यालयले शैक्षिकसत्र २०७६ मा कक्षागत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गर्नेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रम भएको छ । प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत हाजिरीजवाफ, गणित दौड, सियो–धागो दौड, बेलुन डान्स, बेलुन फुटाई, नृत्य प्रतियोगिताको आयोजना गरिएको चण्डिका माविका शिक्षक कमल फूयाँलले जानकारी दिनुभएको छ । यस्तै अभिभावकबीच घ्याम्पो फुटाई प्रतियोगिता समेत आयोजना गरिने बताइएको छ । १२ कक्षासम्म पठनपाठन भइरहेको चण्डिका माविमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालय प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले अंग्रेजी माध्यममा पठनपाठन गर्न, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयले प्रयास गरिरहेको जानकारी दिनुभएको छ । विद्यालयदेखि टाढा रहेको विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँचका लागि बस सेवा सञ्चालन गर्न प्रदेश सरकारलाई सहयोगका लागि प्रधानाध्यापक श्रेष्ठले आग्रह समेत गर्नुभएको छ । वार्षिकोत्सव उद्घाटन समारोहमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, २ नम्बर वडा अध्यक्ष बखानसिंह पाख्रिनको पनि उपस्थिति रहेको थियो ।