हेटौंडाः बीपी विचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । बीपी विचार समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि बानियाँले प्रजातन्त्रका लागि लामो संघर्ष गरेको नेपाली कांग्रेसले फेरि पनि पूर्ण प्रजातन्त्रका लागि लड्नुपर्ने बेला आएको बताउनुभयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउनुहुँदै नेता बानियाँले अहिले कम्युनिष्टहरुले लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पारेकाले एकपटक कम्युनिष्टहरुको विरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभएको छ । उहा“ले कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले विघटित प्रतिनिधिसभा पुनःस्थापना पहिलो एजेण्डा भएपनि सर्वोच्च अदालतको निर्णय भए निर्वाचनमा जानबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति एवम् बीपी चिन्तन प्रतिष्ठान मकवानपुरका विष्णुप्रसाद लामिछाने, स्कूल अफ डेमोक्रेसी मकवानपुरका अध्यक्ष गोपीलाल विश्वकर्मा, नेपाल प्राध्यापक संघका अध्यक्ष कृष्णप्रसाद दाहाल, नेपाल प्रजातन्त्र महासंघका अध्यक्ष कृष्णप्रसाद अर्याल, नेपाल दलित संघ केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, बीपी कोइराला स्कूल अफ पब्लिक पोलिसीका बागमती संयोजक सुदिप बर्तौला, नेपाल मानव अधिकार संगठनका अप्सरा बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका पूर्वअध्यक्ष अर्जुन श्रेष्ठ, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, समाजका उपाध्यक्ष प्रदिप कोइरालालगायतले विचार व्यक्त गर्नुभएको थियो ।