सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी–८, सिम्पानीमा बिहीबार राती दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार राती करिब साढे ९ बजेको समयमा हेटौंडाबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मनहरी–८, सिम्पानीका अन्दाजी ३० वर्षीय जनक ढकालको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

ढकालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ३४२७ नम्बरको ट्रक र बा ४५ प २५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । बिहीबार अबेर रातीसम्म पनि सडक सुचारु हुन सकेको थिएन । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।