Home खेलकुद बागमती प्रदेश लिग फुटबल, मकवानपुरबाट डाँफे क्लबले खेल्ने

बागमती प्रदेश लिग फुटबल, मकवानपुरबाट डाँफे क्लबले खेल्ने

हेटौंडाः बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुरबाट न्यु डाँफे युथ क्लबले सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नुवाकोट जिल्लामा हुने लिगमा मकवानपुरसहित बागमती प्रदेशका १० जिल्लाको टिमको सहभागिता रहनेछ ।

नुवाकोटस्थित आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता यही बिहीबारदेखि सुरु हुने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिनुभएको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, रसुवा र रामेछाप जिल्लाले भने सहभागिता जनाएको छैन ।

लिगका सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको खेल तालिकामा मकवानपुरको न्यु डाँफे युथ क्लब समूह ‘सी’मा परेको छ । उक्त समूहमा काठमाडौंको वाइल्ड स्पोर्टस् एक्सपोर्टस् र काभ्रेको आकाश भैरब क्लब रहेको छ । मकवानपुरको टिमले फागुन ९ गते काभ्रेसँग र फागुन ११ गते काठमाडौंसँग खेल्नेछ ।

लिगको समूह ‘ए’मा ललितपुरको मखिपोट युवा क्लब, चितवनको सौराहा युवा समाज र सिन्धुपाल्चोकको न्यु जेनेरेसन युवा क्लब रहेको छ । यसैगरी समूह ‘बी’मा नुवाकोटको नुवाकोट युनाइटेड फुटबल क्लब, धादिङको धादिङ समाज, दोलखाको टाइगर टिम तिख्रातल र सिन्धुलीको नमुना जनउत्थान क्लब गरी चार टिम रहेका छन् ।

फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको सेमिफाइनल खेल फागुन १२ गते हुनेछ । समूह ‘ए’को विजेतासँग समूह ‘सी’को विजेताले पहिलो सेमिफाइनल खेल्नेछ भने समूह ‘बी’को विजेताले समूह ए, बी र सीको उत्कृष्ट उपविजेतासँग दोस्रो सेमिफाइनल खेल्नेछ । लिगको उपाधि विजेता टिमले नगद ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version