हेटौंडाः बैतडीकी भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै आइतबार हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ्ग स्कुलमा १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले भागरथीको हत्याको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेर र्याली निकालेका हुन् ।
विद्यार्थीको प्रदर्शनलाई व्यवस्थित गर्न विद्यालयका प्रिन्सीपल विनोद सुवेदी र सहायक प्रिन्सीपल अमुल श्रेष्ठ पनि र्यालीमा सहभागी हुनुहुन्थ्यो । विद्यालय परिसरबाट सुरु भएको विरोध र्याली संगमचोक, पिपलबोट, मेनरोड हुँदै बुद्धचोक पुगेपछि विद्यार्थीहरुले कविता समेत वाचन गरेका थिए । कृशु अर्याल र जिविका पराजुलीले कविता वाचन गर्नुभएको थियो । भागरथीलाई न्याय तथा हत्यारालाई कारवाहीको माग गर्दै विद्यार्थीले व्यानर तथा प्लेकार्ड बोकेका थिए ।