Home मुख्य समाचार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मकवानपुरका ४९ विद्यालयबाट प्रस्ताव पेश

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मकवानपुरका ४९ विद्यालयबाट प्रस्ताव पेश

हेटौंडाः संघीय सरकारले कार्यान्वयन गर्न लागेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मकवानपुर जिल्लाका ४९ विद्यालयले प्रस्ताव पेश गरेका छन् । बढीमा २५ लाख रुपैयाँ बजेट सीमामा रहेर विभिन्न ४ वटा क्षेत्रमा प्रस्ताव पेश गर्न आव्हान गरेअनुसार मकवानपुरका विद्यालयले पेश गरेको प्रस्ताव शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले शिक्षा विभागमा पठाएको छ ।

विद्यालयले भौतिक पूर्वाधार, सिकाई उपलब्धीको स्तरवृद्धि, नवीन प्रविधि÷नवप्रवर्तन÷सिकाई सामग्री व्यवस्थापन र प्राविधिक एवम् व्यावसायिक शिक्षामा पहूँच अभिवृद्धिसम्बन्धी प्रस्ताव पेश गर्न शिक्षा विभागले आव्हान गरेको हो । स्थानीय तहको सिफारिससहित विद्यालयले कुनै एक वा एक भन्दा बढी क्षेत्रमा प्रस्ताव पेश गर्न सक्ने व्यवस्थाअनुसार प्रस्तावहरु दर्ता भएको र ती प्रस्तावलाई विभागमा पठाइएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

गत आर्थिक वर्षमा पनि संघीय सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ल्याए पनि कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले आव्हान गरेको लकडाउनका कारण प्रभावित बनेको थियो । गत वर्ष पेश भएका प्रस्तावहरु खारेज गरेर चालु आर्थिक वर्षमा नयाँ प्रस्ताव आव्हान गरिएको हो । शिक्षा विभागले माघ ५ गते सूचना प्रकाशित गरेर विद्यालयलाई प्रस्ताव पेश गर्न भनेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पहिलो पटक गत आर्थिक वर्षबाट सुरु गर्न खोजिए पनि लागू हुन नसकेकोले चालु आर्थिक वर्षमा पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो ।

मकवानपुर जिल्लाका १० वटै पालिकाका विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १३ वटा विद्यालय, मनहरी गाउँपालिकाका ७ वटा विद्यालय, मकवानपुरगढी गाउँपालिकाका ५ वटा विद्यालय, थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकाका ४/४ विद्यालय, कैलाश, भीमफेदी र बकैया गाउँपालिकाका ३/३ वटा विद्यालय र राक्सिराङ गाउँपालिकाका २ वटा विद्यालयले प्रस्ताव पेश गरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

Exit mobile version