हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणाको अनुमति पाएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाका लागि औपचारिक अनुमति प्रदान गरेको हो । अनुमति पाएसँगै बकैया गाउँपालिका आगामी माघ २९ गते बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको स्थानीय तह समन्वय बैठकमा गाउँपालिकालाई जिल्लाको दोस्रो बालमैत्री अवलम्बन गर्ने स्थानीय तह घोषणाको अनुमति प्रदान गरिएको हो । जिसस प्रमुख खुलालले गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेलगायत टोलीलाई बालमैत्री घोषणाको लागि योग्य भएको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिमका सूचकहरुमा घोषणायोग्य उपलब्धि हासिल गरी बालमैत्री स्थानीय तह कार्यविधि २०७० बमोजिमको प्रक्रियाहरु पूरा गरेकाले बालमैत्री घोषणाका लागि अनुमति दिइएको जिसस प्रमुख खुलालले बताउनुभयो । उहाँले बालमैत्री घोषणाको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै बालमैत्री स्थानीय शासनको निरन्तरतासँगै समृद्ध बकैया निर्माणको शुभकामनासमेत व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्तरीय स्थानीय तह फुटबल प्रतियोगिता सञ्चालन गर्ने र त्यसमा सबै स्थानीय तहको सहभागिता रहने निर्णय बैठकले गरेको छ । जिससले जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आगामी चैत्र महिनामा स्थानीय तहस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै, जिससले नियमितरुपमा प्रकाशन गर्दै आएको ‘मकवानपुर’ पुस्तकमा समावेश गर्नका लागि स्थानीय तहहरुलाई विवरणसहितका सफलताका कथाहरु उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकले मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । फुटबल संघले आयोजना गर्ने शहीद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताका लागि स्थानीय तहले घोषणा गरेको रकम उपलब्ध गराउने निर्णय गरेको हो । गोल्डकप सञ्चालनका लागि यसअघि नै जिल्लाका गाउँपालिकाहरुले ५ लाखका दरले र नगरपालिकाले १० लाख तथा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएअनुसार रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, उपमेयर खड्ग गोपाली, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदूर हुमागाईं, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना, बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्य देवराज रिमाललगायतको सहभागिता थियो ।