Home मुख्य समाचार स्टिङ अपरेशन बढाउनु आवश्यक

स्टिङ अपरेशन बढाउनु आवश्यक

मुलुकमा भ्रष्टाचारको छानविन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका बढ्दो उजुरीले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर भ्रष्टाचार अन्त्य गर्ने रटान लगाउँदै आए पनि भ्रष्टाचार निवारणमा सरकार प्रभावकारी बन्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेशनलले वर्षेनि सार्वजनिक गर्दै आएको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनले पनि नेपालमा भ्रष्टाचार बढ्दै गएको देखाउने गरेको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि आएका गुनासोका आधारमा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई प्रमाणसहित घटनास्थलमै पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको स्टिङ अपरेशन प्रभावकारी बनिरहेको भए पनि चालु आर्थिक वर्षमा अख्तियारको हेटौंडा कार्यालयबाट निकै न्यून संख्यामा स्टिङ अपरेशन गरिएको छ । गत आर्थिक वर्षमा २० वटा स्टिङ अपरेशन गरेको आयोगको हेटौंडा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा दुईवटा मात्र स्टिङ अपरेशन गरेको हो ।

भ्रष्टाचार निवारणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निकै महत्वपूर्णरुपमा लिने गरिन्छ । अख्तियारले भ्रष्टाचार निवारणका लागि देशका विभिन्न ठाउँमा कार्यालय स्थापना गरी उजुरी लिने र छानविन गर्ने कार्यलाई विस्तार गर्दै लगेको भए पनि यो पर्याप्न बन्न सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जति सक्रियता देखाउन सक्छ, भ्रष्टाचारका घटनामा त्यति कमी आउने निश्चित छ । अख्तियारले पाउने भ्रष्टाचारजन्य क्रियाकलापको सूचनासँगै तत्काल छानविन गरी भ्रष्टाचारमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रसर बन्नैपर्छ । यसका लागि आयोगले सञ्चालन गर्ने गरेको स्टिङ अपरेशन एउटा प्रभावकारी उपाय बन्ने गरेको छ । तर, चालु आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणको जोखिमले अख्तियारको सक्रियतामा केही कमी भएको मान्न सकिए पनि जम्मा दुईवटा मात्र स्टिङ अपरेशन हुनुले भ्रष्टाचारका उजुरीमा अख्तियार उदासिन बनेको हो कि भन्ने आशंका उत्पन्न हुनसक्छ ।

अख्तियारको हेटौंडा कार्यालयले भ्रष्टाचारविरुद्ध सक्रियता देखाउँदै अघिल्लो आर्थिक वर्षमा ९ वटा स्टिङ अपरेशन चलाएकोमा गत आर्थिक वर्ष २० वटा स्टिङ अपरेशन गरी मुद्दा दर्ता गराएको थियो । तर, चालु आर्थिक वर्षको पुस मसान्तसम्म दुईवटा मात्र स्टिङ अपरेशन गरिएको छ । स्टिङ अपरेशनमा कमी आए पनि अख्तियारमा परेको भ्रष्टाचारको उजुरी भने बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ६ सय ६० वटा भ्रष्टाचारविरुद्ध मुद्दा परेको अख्तियारको हेटौंडा कार्यालयमा गतवर्ष १ हजार १ मुद्दा परेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अख्तियारको हेटौंडा कार्यालयमा ७ सय उजुरी परेका छन् ।

अख्तियारको सक्रियता बढेमा भ्रष्टाचारमा संलग्नहरु पक्राउ पर्दै जाने हुन् । वर्षेनि अख्तियारमा पर्ने भ्रष्टाचारका उजुरी बढ्दै जाँदा अख्तियारले आफ्नो सक्रियता पनि बढाउँदै लानुपर्ने आवश्यकता छ । अझै भ्रष्टाचारीलाई रङ्गेहात पक्राउ गर्न सकिने स्टिङ अपरेशनमा अख्तियारले थप सक्रियता देखाउनैपर्छ । साना–तिना भ्रष्टाचारका उजुरीमा मात्र केन्द्रित नभई अख्तियारले ठूला भ्रष्टाचार घटनामा पनि चासो दिन सकेमा भ्रष्टाचार नियन्त्रणमा सहज हुनेछ । राजनीतिक संरक्षण एवम् पद र पैसाको आडमा बढ्दै गएका गम्भीर प्रकृतिका भ्रष्टाचारविरुद्ध अख्तियारले थप सक्रियता देखाउने हो भने भ्रष्टाचार नियन्त्रण सम्भव बन्नसक्छ ।

Exit mobile version