हेटौंडाः त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्री अध्ययनका लागि आवेदन माग गरेको छ । वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले सोमबार सूचना प्रकाशित गरी बीएस्सी फरेस्ट्री अध्ययनका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।

माघ २० गतेदेखि एक महिनासम्म आवेदन दिन सकिने गरी अनलाइन आवेदन खुलाइएको छ । बीएस्सी फरेस्ट्री अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट वनविज्ञान विषयमा प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण गरेको वा विज्ञानतर्फ १०+२ उत्तीर्ण गरेको हुनुपर्नेछ । एक–एक सय पूर्णाङ्कको गणित र जीव विज्ञान लिई प्रत्येक विषयको शैद्धान्तिक र प्रयोगात्मक परीक्षामा कम्तिमा ‘सी’ ग्रेडका साथै कूल जीपीए २ प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

बीएस्सी फरेस्ट्री अध्ययन गर्न चाहने विद्यार्थीको चैत ७ गते पोखरामा प्रवेशपरीक्षा लिई हेटौंडा र पोखरा क्याम्पसमा ८०–८० जना विद्यार्थी भर्ना गरिने सूचनामा जनाइएको छ । वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले सार्वजनिक गरेको सूचनामा भर्ना गरिने साधारण, समावेशी र क्यापिटेशन अन्तर्गत्का सिट संख्यासमेत उल्लेख गरिएको छ ।