हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधनका लागि विवरण र तथ्यांक संकलनका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेकाहरुको व्यवस्थापन तथा समस्या समाधानका सम्बन्धमा विवरण र तथ्यांक संकलनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य केशव देवकोटाको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि देवकोटाले कार्यक्रमको ढाँचा तथा तथ्यांक संकलकले गर्ने कामका विषयमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा तथ्यांक संकलकहरुलाई अभिमुखीकरण गराउनुभएको थियो । उहाँले सुकुम्बासी आयोगले तथ्यांक संकलन गरी भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्ने बताउनुभयो । तथ्यांक संकलन गर्दा सत्य, तथ्य र त्रुटीरहीत हुनुपर्नेमा जोड दिँदै देवकोटाले तथ्यांक संकलनको कार्यलाई तिब्रता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले गाउँपालिकामा थुप्रै भूमिसम्बन्धी समस्या रहेकोमा अब यसको समाधन हुने विश्वास व्यक्त गर्नुभयो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको विवरण र तथ्यांक संकलन इकार्ईद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका सबै वडा अध्यक्ष, वडा सचिव, तथ्यांक संकलकलगायतको उपस्थिति थियो ।