Home मुख्य समाचार शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यसै वर्षबाट तीनवटा...

शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यसै वर्षबाट तीनवटा कोर्स सुरु हुने

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले यसै वर्षदेखि तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले यसै वर्षदेखि तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । हेटौंडाको गौरीटार आइसोलेसन भएको भवनमा प्रतिष्ठानले चालु आर्थिक वर्षबाटै ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच), ब्याचलर अफ फार्मेसी र ब्याचलर अफ साइन्स इन मेडिकल ल्याबरोटरी टेक्निसियनको कक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयको अध्यापनसँगै अन्य कामहरुलाई पनि सँगसँगै लैजाने तयारी गरिरहेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिनुभयो । उहाँले चालु वर्षबाटै ३ वटा कोर्सहरु सञ्चालन गर्न थालिएको बताउनुभयो ।

हालको लागि बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भवन नभएका कारण गौरीटारको आइसोलेसन वार्ड रहेको भवनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने जनाउनुभयो । प्रतिष्ठानको आफ्नै नाममा जग्गा प्राप्तिका लागि प्रक्रियामा गइसकेका कारण छिट्टै जग्गा प्राप्ति हुने भन्दै हालको लागि गौरीटार आइसोलसन वार्डमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ ।

प्रतिष्ठानले अहिले ३ वटा कोर्स सञ्चालन गर्न सम्बन्धित विषयका ३ जना सह–प्राध्यापक र ६ जना लेक्चररको माग गरेको छ । यस्तै रिसर्च कोअर्डिनेटर एक जनाको लागि विज्ञापन गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रसाईंका अनुसार बागमती प्रदेश लोकसेवा आयोगले उनीहरुको पदपूर्ति गर्नेछ । प्रतिष्ठानले अध्यापन सुरु गर्ने तीनवटा कोर्सका लागि हाललाई सम्बन्धित विषयको ३ जना सह–प्राध्यापक र २/२ जना लेक्चरर माग गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो वर्षका लागि प्रतिष्ठानले प्रत्येक कोर्सका लागि ४० जना विद्यार्थी भर्ना गरी अध्यापन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । प्रतिष्ठानले निजी क्याम्पसहरुको तुलनामा निकै सस्तो शुल्कमा कोर्स सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । यद्यपि बागमती प्रदेश सरकारले ३ वटै कोर्सहरुको शुल्क भने तोकेको छैन । प्रदेश सरकारले शुल्क निर्धारण गरेपछि लागू हुने उहाँको भनाई छ ।

चालु वर्षभित्रै संञ्चालन हुने ३ वटै कोर्सहरुमा छात्रवृत्तिलगायत छुटको व्यवस्था प्रदेश सरकारको नियमअनुसार हुने उहाँले बताउनुभयो । प्रतिष्ठानले आगामी वर्षहरुमा नर्सिङ, एमबीबीएस विषयका कक्षा पनि सञ्चालन गर्ने रजिष्ट्रार प्रसाईंले जानकारी दिनुभयो । आफ्नो ४ वर्षको कार्यकालमा राजनीतिक स्थायित्व कायम भएर काम गर्ने वातावरण स्वच्छ भएमा प्रतिष्ठानका गतिविधिहरु धेरै अगाडि बढ्ने उहाँले बताउनुभयो ।

हेटौंडाका बासिन्दाहरुका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनु गौरवको कुरा भएको भन्दै प्रतिष्ठानले हेटौंडाको स्वास्थ्य क्षेत्रमा कायापलट गरिदिने उहाँले बताउनुभयो । उहाँले प्रतिष्ठानले तिव्र गतिमा काम गरेमा ४ वर्षमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न सकिने तथा प्रदेशका लागि आवश्यक प्राविधिक जनशक्तिहरुको पनि उपलब्धता गराउन प्रतिष्ठान सफल हुने उहाँले बताउनुभयो ।

Exit mobile version