Home मुख्य समाचार आधुनिक राष्ट्रिय माविका प्रअ एसियाकै उत्कृष्ट प्रअ

आधुनिक राष्ट्रिय माविका प्रअ एसियाकै उत्कृष्ट प्रअ

एसियाको उत्कृष्ट प्रधानाध्यापकको रुपमा आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैठालाई छनोट गरिएको व्यहोराको एसिया अवार्डको पत्र ।

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा एसियाकै उत्कृष्ट प्रधानाध्यापक चुनिनु भएको छ । मलेसियास्थित एसिया अवार्ड नामक संस्थाले आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठालाई सन् २०२०/२१ को एसियाकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा छनोट गरेको हो ।

विभिन्न व्यावसायिक विधामा उत्कृष्ट घोषणा गर्ने एसिया अवार्डले करिब दुई महिनाअघि आवेदन माग गरेको थियो । एसिया अवार्डको छनोट प्रक्रियामा विद्यालयको विवरण र आफ्नो व्यक्तिगत विवरण बुझाएर प्रधानाध्यापक बैठा एसियाका एक सय आवेदक मध्येबाट उत्कृष्ट ठहरिनुभएको हो ।

एसिया अवार्डले बैठालाई शनिबार उत्कृष्ट प्रधानाध्यापकको रुपमा घोषित गरेको हो । एसिया अवार्डले प्रधानाध्यापक बैठालाई आगामी अप्रिल ७ मा भारतको मधुराईमा आयोजना गरिने समारोहमा सम्मान गर्नेछ । एसिया अवार्डमा आफूले विद्यालयको वस्तुस्थिति र आफ्नो योजनाका बारेमा जानकारी गराएको प्रधानाध्यापक बैठाले बताउनुभयो । दश जोड दुई तहसम्म पठनपाठन हुने आधुनिक राष्ट्रिय माविमा दुई हजार पाँच सय विद्याथर्थी अध्ययनरत छन् । नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन हुने विद्यालय जिल्लामा सधै पहिलो स्थानमा रहँदै आएको छ भने देशकै नमूना सामुदायिक विद्यालयको रुपमा पनि परिचित छ ।

२०४१ सालमा निमावि तहको शिक्षकको रुपमा नियुक्त हुनुभएका बैठा २०५१ सालदेखि आधुनिक राष्ट्रिय माविमा शिक्षण गर्दै आउनुभएको छ । २०५८ सालदेखि करिब तीन वर्ष काजमा श्रोतव्यक्तिको रुपमा काम गर्नुभएका बैठा २०७० सालदेखि आधुनिक राष्ट्रिय माविको सहायक प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । बैठाले २०७४ साल फागुनदेखि आधुनिक राष्ट्रिय माविको प्रधानाध्यापकको भूमिकामा हुनुहुन्छ ।

इन्टरनेशनल प्रिन्सीपल फोरम, टिचिङ एण्ड एजुकेशन रिसर्च एसोसिएसनमा समेत आवद्ध बैठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर विद्यालय व्यवस्थापन र विद्यालयको नेतृत्व सीपका बारेमा ज्ञान हासिल गरेको बताउनुहुन्छ ।

Exit mobile version