Home अर्थ/व्यापार भीमफेदी–कुलेखानी सडकखण्ड शनिबारदेखि दुई महिनाका लागि बन्द

भीमफेदी–कुलेखानी सडकखण्ड शनिबारदेखि दुई महिनाका लागि बन्द

संकेतका लागि प्रयोग गरिएको फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–काठमाडौं छोटो मार्गको प्रमुख खण्ड भीमफेदी–कुलेखानी सडकखण्ड माघ १० गते शनिबारदेखि दुई महिनाका लागि बन्द हुने भएको छ । सडक फराकिलो पार्ने कार्य भइरहेको भीमफेदी–कुलेखानी सडकखण्डमा स्ल्याब ढलान गर्नका लागि निर्माण कम्पनिको मागअनुसार बागमती प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सर्वपक्षीय बैठकबाट सडक बन्द गर्ने निर्णय गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार बिहीबार निर्माण कम्पनि, नेपाल प्रहरी, ट्राफिक प्रहरी, भौतिक पूर्वाधार मन्त्रालय, स्थानीय पालिकाका प्रतिनिधिको उपस्थितिमा बैठक बसेर बाटो बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयले चैत १० गतेसम्मका लागि बाटो बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभएको छ । दुई महिनाका लागि बाटो बन्द गर्ने निर्णय गरे पनि छिट्टै काम समेत अगाडि नै बाटो खुलाइने पनि उहाँले बताउनुभएको छ ।

भीमफेदीदेखि कुलेखानीसम्म १५ किलोमिटर सडकखण्डलाई २ वटा प्याकेज बनाई बाटो फराकिलो गर्ने काम थालिएको हो । भीमफेदीबाट देउरालीसम्म एउटा खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ भने देउरालीबाट कुलेखानीसम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

भीमफेदी कुलेखानी सडकखण्ड फराकिलो बनाउन गत माघ १० गते ठेक्का सम्झौता गरेर निर्माण सुरु गरिएको हो । दुबै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन् । बागमती प्रदेश सरकारकै लगानीमा भैंसे–भीमफेदी खण्ड पनि फराकिलो बनाउने कार्य भइरहेको छ । उता कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड पनि स्तरोन्नतिको कार्य भइरहेको छ । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडालाई जोड्ने छोटो मार्ग स्तरोन्नति गरेर सहज र छिटो आवतजावत गर्न सकिने बनाउन बागमती प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।

Exit mobile version