हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पार्टीको हेटौंडा उपमहानगर कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।
बिहीबार उपमहानगर कमिटीको विस्तारित बैठकले उपमहानगर कमिटी अध्यक्ष रघु आचार्य र सचिव तीर्थबहादुर थापा मगरलाई पदमुक्त गरी पार्टीको हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा शालिकराम पुडासैनी र सचिवमा बोलबहादुर कार्कीलाई चयन गर्ने निर्णय गरेको ओली समूहका नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार नगर कमिटीलाई एक सय एक सदस्यीयबाट दुई सय ३५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ । नेकपा हेटौंडा उपमहानगर कमिटीको विस्तारित बैठकसँगै अब वडास्तरमा पनि पार्टी पुनर्गठन गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बिहीबार हेटौंडा उपमहानगर कमिटीको विस्तारित बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्तप्रसाद पौडेल, केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य रघुनाथ खुलाल, मधुसुदन खतिवडा, मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पार्टीको वडा कमिटी अध्यक्ष, निर्वाचित अध्यक्ष, सदस्यहरुको उपस्थिति रहेको थियो ।