हेटौंडाः मकवानपुरमा रहेर कलाकारितामा सक्रिय तामाङहरुले स्थापना गरेको मकवानपुर तामाङ कलाकार संघको आयोजनामा शनिबार हेटौैंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । संघ औपचारिक रुपमा दर्ता भएको तथा २८५७ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशसभा सदस्य ओम ग्लानले तामाङहरुको कला, संस्कृति जगेर्ना गर्ने गरी स्थापना भएको संघको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनमा तामाङ जातिको पनि महत्वपूर्ण भूमिका रहेको भन्नुहुँदै उहाँले कला संस्कृति जगेर्ना गर्ने, भाषा, लिपिलाई समेत अझ परिस्कृत गर्दै लैजाने कुरामा तामाङ समुदायले ध्यान दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य सुनिल मोक्तान, बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामासहित तामाङ कलाकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष धिरेन्द्र लामाको अध्यक्षतामा भएको हो ।