हेटौंडाः देशमा कोरोना भाइरस संक्रमणको सुरुवातको समयमा हेटौंडा उपमहानगरपालिकाले कोरोनाबाट मृत्यु भएका नगरबासीलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा भए पनि कार्यान्वयन हुन सकेको छैन ।

कोरोना भाइरस संक्रमणको दर निकै कम रहेको अवस्थामा गरिएको घोषणा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि कार्यान्वयनको सम्भावना पनि न्यून हुँदै गएको हो ।

हेटौंडा उपमहानगर क्षेत्रमा कोरोनाबाट मृत्यु हुनेको संख्या उपमहानगरपालिकाले अनुमान गरेको भन्दा धेरै बढी भएपछि मृत्यु भएकाको परिवारलाई दिने भनिएको रकम प्रदान गर्न उपमहानगरपालिकाले कुनै तयारी गरेको छैन ।

केही दिनअघि भएको नगरसभामा पनि कोरोनाबाट मृत्यु हुनेका परिवारलाई दिइने भनी घोषणा गरिएको रकमसम्बन्धमा कुनै प्रस्ताव नआएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता जगन्नाथ सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षको अन्त्यतिर हुने अर्को नगरसभामा पनि यससम्बन्धमा प्रस्ताव आउने सम्भावना कम रहेको सापकोटाले जानकारी दिनुभयो ।