उपचारको क्रममा खिचिएको सरिता थिङको तस्वीर । तस्विरः सौजन्य हरिकृष्ण न्यौपाने/कुवेत

हेटौंडाः वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरको काँकडाकी सरिता थिङको मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडाकी सरिता थिङको आदान अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको हो ।

ग्याष्ट्रिक बिग्रिएर अल्सर भएपछि अस्पातल भर्ना भएकी थिङको आइतबार मृत्यु भएको नेपाली राजदूताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले पुष्टी गरेको नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभएको छ । थिङ बिरुद्ध २ वर्ष पहिले काम गर्ने घरबाट भागेको (रनवे) मुद्दा परेको थियो ।

थिङ अवैधानिक रुपमा लुकेर काम गर्दै आएकी थिइन् । दूतावासका अनुसार अवैधानिक रुपमा भारतीय बाटो हुँदै आएको र श्रम सम्झौता पनि नगरेकाले थिङको शव नेपाल पठाउन लाग्ने खर्च परिवारले नै व्यहोर्नु पर्ने जनाएको छ । यता थिङको परिवारसँग सम्पर्क भएको र शव पठाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ ।