हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २६० औं साहित्य श्रृंखला मकवानपुरको बकैया गाउँपालिकाका दुई फरक स्थानमा साहित्यिक प्रशिक्षण कार्यक्रमका रुपमा शुक्रबार एकै समयमा सम्पन्न भएको छ । बकैया–२, धियाँलस्थित कालिका मावि र बकैया–९, शिखरपुरस्थित कालिदेवी माविमा काव्य प्रशिक्षण आयोजना गरिएको हो ।

शिखरपुरमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दीपक गौतमले प्रशिक्षण दिनुभएको थियो भने सहसचिव गायत्री रुपाखेती तथा सदस्य शुभलक्ष्मी विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी धियाँलमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले साहित्यिक प्रशिक्षण दिनुभएको थियो भने संस्थाका सचिव मसान उपासक र कोषाध्यक्ष कृष्ण घतानीले सहजीकरण गर्नुभएको थियो । दुबै स्थानमा भएका कार्यक्रममा सम्बन्धित विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरु तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । दुवै विद्यालयहरुमा ११-११ सदस्यीय साहित्यिक बाल समूह समेत गठन गरिएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरले “सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” अन्तर्गत हालसम्म मकवानपुर जिल्ला भित्रका विभिन्न पचासभन्दा बढी विद्यालयहरुमा स्थलगत साहित्यिक प्रशिक्षण कार्यक्रम आयोजना गरिसकेको छ ।