हेटौंडाः प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिकामा पैसा लिएर गाँजाखेती नफाँडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र गाउँपालिका प्रहरीले एकमुष्ट रकम लिएर तोकिएको स्थानमा गाँजा नफाँडेको र पर्याप्त रकम नदिएको ठाउँमा भने प्रहरीले गाँजाखेती फँडानी गरेको भन्दै राक्सिराङ गाउँपालिकावासीले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
राक्सिराङवासीले अख्तियारमा दर्ता गरेको उजुरीपत्र नेपाल पत्रकार महासंघसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर र लागुऔषध अनुसन्धान व्यूरो काठमाडौंलाई समेत बोधार्थ जानकारी गराएको छ । स्थानीयले उजुरीपत्रमा प्रहरीले २५ लाख रुपैयाँ असुली गरेको आरोप समेत लगाएको छ । केहीदिनअघि प्रहरीले गाँजा फाँड्ने क्रममा विभेद गरेको भन्दै स्थानीयले विरोध समेत गरेका थिए । प्रहरीले गाँजा फाँडेको विषयमा स्थानीय सरकारले समेत असन्तुष्टि व्यक्त गरेको थियो ।
लागुऔषध गाँजा र अफिम खेती रहेको राक्सिराङ गाउँपालिका–१ को गलसाराङ, कुपिन्टार, भूमिथुम, वडा नम्बर २ को वारेटार, राम्चे, रिम्किम, भाड्डी, वडा नम्बर ३ को लावती स्कूल, स्यामाराङ, निगाराङ, गोठेरी, बिर्खेडाँडा, वडा नम्बर ४ को पञ्जनी, देवीटार, राक्सिराङ, दुङ्गु, खोल्चा, तार्सीकोट, वडा नम्बर ५ को बोटबारी, खर्से भेगडाँडा, रानीवाङ, तागाराङ, कैलाश गाउँपालिका–४ को देउराली, गर्खाल, धुसाराङ, देउतिस, स्यान्स्याराङ, लिकचे क्षेत्रमा रहेको गाँजा खेती फँडानी गर्न समेत माग गरेका छन् ।