Home मुख्य समाचार प्राध्यापक संघको आँखामा मकवानपुर क्याम्पसको नालीबेली

प्राध्यापक संघको आँखामा मकवानपुर क्याम्पसको नालीबेली

भोजराज ढकाल

यो आलेख प्राध्यापक संघको चुनावमा रणनीति तयार गर्नुपर्ने समय खर्च गरेर तयार पारिएको हो । २०६४ सालदेखि आजका दिनसम्म आउँदा पर्दाभित्रका धेरै कथाहरु बुझियो । संगठनको अध्यक्षका अतिरिक्त प्राध्यापक संघको उपाध्यक्ष र अध्यक्ष भएर छ वर्ष बिते । आफ्नो स्वार्थ बाहेक सकेसम्म प्राध्यापक र संस्थाको अहितमा साँच्ने कुरो पनि भएन । यत्तिसम्म कि कसैले हिटलर समेत भन्न भ्याए । नेतृत्वको हैसियतले प्राध्यापकको अहित सोँच्न पनि सकिन्थे । सँगसँगै संस्था भित्रको दुर्गति निमिट्यान्न गर्नु थियो ।

मकवानपुर क्याम्पस हामी सबैको जीवन हो । यो मकवानपुरे जनताको रगत पसिनाले सृजना भएको हो । संस्थामा प्रवेश गर्दा एकजना चिनजान गर्ने अवसर प्राप्त गर्ने मौका मिलेन । बुझ्नेले के बुझ्नु भयो बुझ्नेलाई थाहा होला । यो प्राज्ञिक थलो हो । पात्र गौण कुरा भयो । अविरल बग्ने नै भयो । जब २०६४ सालमा संस्था भित्र प्रवेश भयो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष हुनुहुन्थ्यो । जब प्रवेश भयो । अचम्म लाग्यो । अन्य पार्टी र आदर्शको कुरा छोडौं । हाम्रो संगठन, पार्टी र संस्थाको व्यवहार शैली दुःखपूर्ण थियो । प्राध्यापकहरु बोल्न करोडौं पटक सोँच्नु पर्ने रहेछ । स्वतन्त्रताको अनुभव गर्न सकिएन । डर त्रासको वातावरण रहेछ । तलब, सेवा, सर्त दिए खाने, नदिए हेरेर बस्नु पर्ने रहेछ । बिधि, संस्थाको नियम व्यक्ति अनुसार परिवर्तन हुन्थे । हामी तीन वर्षमा स्थायी हुनुपर्ने थियो । जब समय आयो नियम परिवर्तन भयो । को ईमानदार, को थोरै न्यून कसले कसरी ठम्याउने ? प्राध्यापक सोझो हेरेर बोलेका आजसम्म देखेको छैन ।

यतिसम्म कि संगठनमा नेतृत्वको निर्माण कोठरीबाट टीका लाउनु पर्ने रहेछ । मन र भावना सबै तिलाञ्जली हुन्थे । कोहि नबोल्ने । सबै बिना हिच्किचाहट ताली बजाइदिनुपर्ने रहेछ । कसैले दिए संगठनको अध्यक्ष, उपाध्यक्ष, चिफ, सहायक सबै हुने प्रथा रहेछ । नदिए जतिसुकै क्षमता होस्, इमानदार होस् आकाशको शीत हेरेर बस्नु पर्दो रहेछ । प्रशासनको नेतृत्व गर्नु हुने प्राध्यापकको समेत आफ्नो सेवा सर्त दिए हात थाप्ने, नदिए हेरेर बस्ने बाहेक केहि हुँदैन । जसले इतिहास रच्नु भयो ती मित्रहरूको योग्यताको प्रश्न होइन । सबैको समाधानको शुत्र शक्ति निर्माण नै थियो ।

दिनहरु क्रमशः बित्दै गए । प्रगतिशीलले अध्यक्ष बनायो । त्यो रोक्न असमर्थ भएको पक्कै हो । प्राध्यापक संघको अध्यक्ष भएदेखि एकछत्र कोहीसँग सम्झौता भएन । आज क्याम्पसमा सबै प्राध्यापकहरु बोल्न र मुकाविला गर्न सक्ने सामथ्र्य भयो । प्राध्यापक संघले प्राध्यापक र संस्थाको अहितमा जसरी पनि जुध्न सक्छ भन्ने विश्वास दिलायो । प्राध्यापकले प्रश्न गर्ने ठाउँ नहुनु पर्ने हो । बाँकी प्राध्यापक संघसँग के क्षमता हुन्छ ?

आफूले नेतृत्व गरेको प्राध्यापक संघको कार्यकाल पुस १० गते सकिँदै थियो । नेतृत्वमा टाँसिएर बस्यो भन्ने आरोपको सामना गर्न नपरोस् भनेर आफैं अग्रसर भएर कार्यकाल सकिएको भोलिपल्टै अर्थात पुस ११ गते अधिवेशन आव्हान गरेर सौहाद्र्ध वातावरणमा कार्यकाल पूरा गरियो । यस किसिमको अभ्यास एउटा नयाँ इतिहास नै बन्यो । पारिवारिक दबाव र आफ्नो करियरका कारण छोड्नुपर्ने थियो । अर्कोतर्फ प्राध्यापक संघको नेतृत्व सिफारिस गर्ने संगठनको दबाव आयो । जसरी पनि नेतृत्व गर्नुपर्छ । छोड्नु हुँदैन । संगठनको सचिवालयले अध्यक्ष बनाउने अनौपचारिक निर्णय गर्‍यो । पुनः औपचारिक निर्णय भयो । संगठनको पूर्ण कमिटीमा हुनुहुने ११ जना, सल्लाहकार समेतले मलाई सर्वसम्मत रुपमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनाउने निर्णय भयो ।

प्रगतिशीलका अध्यक्ष आफैं आकांक्षी हुनुपर्ने अवस्थामा समेत उहाँले सहजै मलाई नै दोस्रो कार्यकालका लागि नेतृत्व लिन सिफारिस गर्ने निर्णय गर्नुभयो । प्रगतिशील प्राध्यापक संगठनमा आवद्ध ४३ जनाको पूर्ण भेलामा ३७ जनाको उपस्तिथि भयो । प्रशासनमा नेतृत्व गर्नुहुने एकजनाले प्रत्यक्ष रूपमा आलोचना गर्नु भयो । अर्को प्रशासनमा रहनु हुने मित्रले म पनि अध्यक्ष हो भन्न समेत भ्याउनु भयो । आफ्नो मित्र भएकोले धेरै टिप्पणी गर्ने कुरा पनि भएन । उहाँले फिर्ता लिनुभयो । पूर्ण भेलाले सर्वसम्मत निर्णय भयो । करिब एक सयको संख्यामा रहेको प्राध्यापकज्यूहरुमा एकजनाको पनि बिमति हुँदा प्राध्यापक संघको नेतृत्व गर्ने कुरा आएन । यो विश्राम लिने उपयुक्त समय थियो ।

यो प्राध्यापक संघको निरंतरताले सानो ठूलो सबै सिंहदरबार हल्लिएछ । प्रशासनको निद सकिएछ । संगठनका साथीहरू बागी खडा गरियो । ती सबै मेरा मित्र हुनुहुन्छ । संगठनको मूल्य विपरित जानु संगठनको सिद्धान्त विपरित हुनुले भविष्यमा के होला नहोला छोडौं । एउटा प्रश्न खडा भएको पक्का हो । कस्ता पात्रहरुलाई इतिहासमा नेतृत्व सुम्पिएछौं । अरुको आडमा प्रशासन सोझै प्रस्तुत हुनुभयो । हुने केहि होइन । सफल भएपनि केहि सकिँदैन । प्राध्यापकज्यूहरुको क्याम्पसमा बिना डर, संकोच कुनै त्रास प्रवेश गर्ने अधिकारको रक्षा बाहेक केहि हुँदैन । अझ असल नेतृत्व गर्नेको रगत पसिना छुट्ने बाहेक के हुन्छ र ? पराजित गर्न सके अर्को युगीन सफलता प्राप्त होला भन्नेको सोँच पूरा होला । पराजित भए के हुने होला । एउटा सानो प्राज्ञिक थलोमा जुनसुकै पद प्राप्त गर्नु र नगर्नुले कुन अर्थ लेला ।

नेतृत्वमा पुग्न सबैलाई समान अधिकार छ । प्रश्न हो हासिल गर्ने कसरी ? प्राध्यापक संघ प्रक्रिया मात्र होइन । यो एउटा आस्था पनि हो । प्राध्यापक संघको नेतृत्व स्वतन्त्र रूपमा बिना हस्तक्षेप निर्माण हुनुपर्छ । प्रशासनको प्रत्यक्ष हस्तक्षेपमा सबैले बुझ्ने शैलीमा निर्माण भए प्राध्यापकको स्वाभिमान के हुन्छ ? प्राप्त के होला । जोसुकै हामी भएपनि बाँकी के हुन्छ । हुनेलाई पनि “नखाउ दिनभरिको सिकार” भन्ने लाग्छ । अर्कोतर्फ प्रशासन कसरी सफल हुन्छ । निर्णय प्रक्रियामा प्रभाव पर्ला । तर प्राज्ञिक छलफल हुने खुल्लाचौर कसरी सफा हुन्छ ? द्वन्द्व आफैं निर्माण गर्ने प्रशासनको कार्यकालको चिन्ता होइन संस्थाको जीवनसँग र लाखौंलाख आउने कर्णधारहरुको क्षमतासँग सम्बन्धित छ । सानो ठाउँमा को कस्ता छौं, कसको क्षमता कस्तो सबैले बुझ्ने नै छन् ।

हामी नेतृत्वमा जोसुकै पुगे पनि हाम्रो सञ्चालक समिति, प्रशासन र प्राध्यापक संघको स्वतन्त्र बहसले संस्था निर्माण हुन्छ । फल्छ । फुल्छ । सबै एक अर्कामा खुसी हुनुपर्छ । सबै एकअर्कामा स्वतन्त्र हुनुपर्छ । हाम्रो लक्ष्य निरन्तर अगाडि बढी रहन्छ । पहिलो शर्त प्राध्यापकज्यूहरुलाई स्वतन्त्र रूपमा प्राज्ञिक थलोमा प्रवेश गर्ने वातावरण निर्माण हुनुपर्छ । जुनसुकै जोसुकै जस्तो दर्शनले सुशोभित हुनु किन नपरोस् । दोश्रो प्राध्यापक कर्मचारीको न्युनतम तलब, सेवा सर्त नियमित रूपमा कसैलाई चाकरी र दर्शन भेट नगरी गरिदिनुपर्छ । तत्पश्चात संस्थामा नीतिगत बहस हुन्छ । समाजले हेर्दा संस्था चलिरहन्छ । शुन्य एक्टिभिटीमा पनि समय अगाडि बढी रहन्छ । हामी हुनु र नहुनूमा फरक देखाउनु पर्छ । नेतृत्वमा रहनु हुने हाम्रो सञ्चालकज्यूहरु, क्याम्पस प्रशासन , प्राध्यापक संघले सबैको मन जित्नु पर्छ । जित्न सक्नुपर्छ । अनिमात्र हामी पुजिन्छौं । दबाएर, तर्साएर, प्रलोभनमा पारेर, हुकुमी शैलीमा प्रस्तुत भएर को डराउने ? किन डराउने ? अन्ततोगत्वा आफैं तर्सिएर बस्नुपर्छ । कसले कता, कहाँ, कुन स्थानमा आफ्नो बिरुद्ध कलम चलायो, बहस गर्‍यो ।

यो प्राध्यापक संघले केहि ऐतिहासिक काम गरेको छ । अस्थायी गणना, प्राध्यापकलाई तलबी बिदासहित प्रतिवर्ष अध्ययन बिदा, उपदानमा भएको अन्यायको न्यायोचित वितरण भयो । कलेजलाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने ठुलो अभिभारा बाँकी छ । यो संघले सञ्चालक समिति र पुरानो क्याम्पस प्रशासनको मन नजिती सम्भव थिएन । नयाँ प्रशासन र नयाँ नेतृत्वले अझ ऐतिहासिक नयाँ नयाँ संकल्प लिनुपर्छ । हाम्रो अभिभावकत्व ग्रहण गर्नु हुने सञ्चालक समितिले नेतृत्व निर्माण गर्न खुला बहस गर्ने वातावरण सृजना गरिदिनु उचित हुन्छ । अन्यथा संस्था मर्छ । संस्थामा ९० प्रतिशत प्राध्यापक इमान्दार हुनुहुन्छ । चाकरी र आशिर्वादको पहिचान गरिदिनु पर्छ । संस्थाको मूलभुत जड नै नेतृत्व निर्माण हो । जे होस नराम्रो केही छैन । प्रमाणित गरिदिनु पर्नेछ । हामी प्राध्यापकहरुलाई कसैले नैतिक प्रश्न उठाउनु पर्दैन । हामी आफ्नो स्वाभिमानी र प्रतिष्ठाका लागि अहोरात्र त्याग गर्न तयार छौं । सञ्चालक समिति खुसी बनाउछौं । न कि को पात्र रह्यो रहेन, भयो भएन, कुनै सरोकार रहँदैन ।

Exit mobile version