पदमुक्त गरिएपछि पुस १९ गते आइतबार पत्रकार सम्मेलनमा बोल्नुहुँदै मनिला विष्ट । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले किर्ते राजीनामापत्र तयार पारेर कर्मचारी र जनप्रतिनिधिसमेतले आफूलाई पदमुक्त गरेको दावी गर्नुभएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पदमुक्त हुनुभएकी विष्टले गाउँपालिकाको अध्यक्षसँग कुनै किसिमको विवाद नभएको र अन्य जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफूलाई पदमुक्त गराइएको दावी गर्नुभयो ।

पालिकाले पदमुक्त गरिएको भनी आएका समाचारहरु गलत भएको दावी गर्नुहुँदै आफूले राजीनामा नदिएको बताउनुभयो । आफ्नो राजीनामाको विषयमा यसअघि पनि पटक–पटक बिवाद हुँदा गाउँपालिकाले नै स्पष्ट पारेको उल्लेख गर्नुहुँदै विष्टले भन्नुभयो, ‘यसअघि मंसिर २९ गते उपाध्यक्षको राजीनामा नआएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले नै विज्ञप्ति सार्वजनिक गरेर स्पष्ट पारिसकेको छ । अहिले आएर सोही मितिमा राजीनामा पत्र लेखिएको भन्दै पदमुक्त गर्ने कुरा कसरी हुन्छ ?’ आइतबारसम्म पनि पालिकाकै काममा हिँडेको मान्छेलाई शुक्रबार नै पदमुक्त गरिएको भन्ने समाचार आउँदा आफू अचम्ममा परेको र दुखी भएको विष्टको भनाइ छ ।