Home कला हेटौंडामा चितवनका स्रष्टा पत्रकारको चर्चा हुँदै

हेटौंडामा चितवनका स्रष्टा पत्रकारको चर्चा हुँदै

हेटौंडाः चितवन जिल्ला मकवानपुरका लागि प्रेरक छिमेकी हो । मकवानपुरले चितवनलाई हेरेर धेरै काम गर्ने रहर मात्रै गर्न सक्छ । चितवनलाई हेरेर इस्र्या गर्दै चुनौतिसाथ आफ्नो क्षमता प्रस्तुत गर्ने आँट गदैन । चितवनलाई केही समयअघिसम्म ७६ औं जिल्ला भनेर पनि व्याख्या गरिन्थ्यो । तर, अहिले नेपालमा आधिकारिक रुपमै ७७ वटा जिल्ला स्थापित भइसक्दा चितवनलाई ७८ औं जिल्लाको रुपमा व्याख्या गरेको भने पाइँदैन । चितवन जिल्लाको अग्रसरताकै कारण चितवनलाई हिजो ७६ औं जिल्ला भनिएको हो भने आज ७८ औं जिल्लाको हैसियत कायम राख्न सफल भएको छ । स्वास्थ्य क्षेत्रमा चितवनले देशकै राजधानीको उपमा पाएको छ । यद्यपि स्वास्थ्यमा अझै चितवनले धेरै प्रगति गर्नुछ । स्वास्थ्य जस्तै पत्रकारिता र शिक्षामा पनि चितवन अग्रस्थानमा छ ।

पत्रकारिता र शिक्षाकै एउटा मानकको रुपमा स्थापित हुने गरी पत्रकारले लेखेका तीनवटा कृतिको आज शनिबार हेटौंडामा चर्चा हुँदैछ । चितवनका पत्रकारहरू वसन्त पराजुली, सूर्यप्रकाश कँडेल र बिनोदबाबु रिजालका पुस्तकहरूमाथि आज शनिबार हेटौंडामा चर्चा हुँदैछ । बसन्तको कुमाता, सूर्यप्रकाशको मोसो र विनोदबाबुको एकान्तबासको आज चर्चा हुँदैछ । बसन्तको कुमातामाथि निमेष निखिलले टिप्पणी गर्नुहुनेछ भने सूर्यप्रकाश कँडेलको कृतिमा घनश्याम घिमिरेले टिप्पणी गर्दै हुनुहुन्छ । यस्तै विनोद बाबुको एकान्तबासमाथि शान्तिप्रिय बन्दनाले टिप्पणी गर्नुहुनेछ ।

सूर्यप्रकाश कँडेलद्वारा लेखिएको मोसो उपन्यास पत्रकारिताका नाममा हुने विकृतिका बारे विषय उठान गरिएको कृति हो । अरुका बारे लेख्ने पत्रकार स्वयम्मा आफू कत्तिको परीक्षित छ ? भन्ने चासोका बीच यस किसिमको विषय चयन गर्नु आफैंमा महत्वपूर्ण छ । अन्य बस्तुको सामग्री मुल्यबृद्धि हुँदा समाचारको मुख्य विषय बन्ने तर दुई रुपैयाँमा पाइने पत्रिका एकैपटक दस रुपैयाँ पर्नेगरी मूल्यवृद्धि हुँदा आमपाठकको समस्या किन गुपचुप भएको होला ? भन्ने विषय आम नागरिकका लागि रुचिकर हुने नै भए । इमानका साथ साँच्चिकै शब्दको खेती गरेर अभावको जिन्दगी धानिरहेको एउटा आदर्श पत्रकारको अगाडि पत्रकारिताको अवरणमा दलाली गरेर मोजमस्तीको रंगीन संसारमा मस्त केही दलाल पत्रकारकै कारण यस पेसाप्रति प्रश्न उठ्न थालेको वास्तविकतालाई मोसोमा प्रस्तुत गरिएको छ । गम्भीर विषयलाई पक्रेर पनि गम्भीर ढंगले नै पस्कन नस्कनुले उपन्यास सोचेजती आकर्षक बन्न सकेको छैन । सामान्य पत्रकारको रिपोर्टिङको स्तरभन्दा माथिल्लो कलात्मकताको माग उपन्यासले गर्दछ जुन यस उपन्यासमा पाउन सकिएन ।

बसन्त पराजुलीको कथासंग्रह कुमातामा सामाजिक यथार्थ चित्रण गरिएका सबै कथाहरु राम्रा छन् । रोचक छन् । मन तान्ने र धेरै बेर सोच्न बाध्य बनाउने छन् । कथा संग्रहमा संग्रहित पहिलो कथा ‘पत्रकार’ मा रिपोर्टिङमा दिन रात नभनी खटिनु पर्ने, समाचार बनाउँदाका ज्यान मार्नेसम्मका धम्की र जोखिम, न्याय खोज्दा नपाउनु, न्युन पारिश्रमिक त्यो पनि समयमा नपाउनु आदि आम पत्रकारका बास्तबिक पीडालाई देखाइएको छ । ‘पत्रकारिता गरेको पनि बीस बर्ष भएछ । ओहो । दुई दशक पो त । सरकारी जागिर भए पेन्सन पाक्ने बेला । तर पत्रकारिता गरेर मेरो अवस्था ज्यूँ का त्यूँ । कोठाकै बास ।’ सन्यास शीर्षकको कथाको सार हो ।

‘छापामारको प्रेम’ ले द्वन्द्वकालिन समयको एउटा कहालीलाग्दो यथार्थ कथा प्रस्तुत गरेको छ । ‘उकुच’ र ‘दशैं’ कथा गरिबीका कारण बैदेशिक रोजगारीमा जान बाध्य नेपाली, त्यहाँ उनीहरुको अवस्था अनि स्वदेशमा उसको जहानको अवस्थाका बारेमा मार्मिक र यथार्थ कथा प्रस्तुत गरिएको छ । ‘कुमाता,
परिवन्द, अस्मिता, नियति’ पढिरहँदा यिनीहरुमा पनि एउटा तितो यथार्थ छ । भोक प्यास त सबैलाई लाग्छ । केही आधारभुत आवश्यकता पूरा गर्न पनि सामाजिक नियमको पालना गर्नुपर्छ । महिलालाई च्याप्पै बाँध्ने र पुरुषलाई खुला छोडिदिने विभेदकारी सामाजिक नियमले गर्दा पुरुषले जिम्मेवारी बिर्सिए र स्वार्थी बनेको छ । तिनै स्वार्थी पुरुषका कारण नारीहरु कुमाता बन्न बाध्य भए । कुमारीलाई फकाएर प्रेम जालमा पारेर गर्भवती बनाएर बेपत्ता हुने पुरुषको दोष यो समाजले देख्दैन । तिनीहरुलाई कसैले कुपिता भन्दैन । केवल नारीको मात्र दोष देख्छ र उसैलाई कुमाता भन्छ । एउटा माता कुमाता हुनुमा हात कसको छ यो कुरा समाजले बुझ्न जरुरी छ । कुमाता कथा संग्रहले समाजको यथार्थ बोलेको छ । यो सुन्दर कथासंग्रहको दोस्रो संस्करण पनि बजारमा ल्याउन सफल लेखक बसन्त पराजुलीको कथा लेखनको सशक्त बुझ्ने एउटा अर्को माध्यम पनि हो ।

यस्तै पत्रकार विनोद बाबु रिजालको कृति एकान्तबास कोभिड–१९ का कारण एकान्तमा बस्न बाध्य एक आम नागरिकको कथा हो । विनोद बाबुले एक आम नागरिकको रुपमा भोग्नुपरेका समस्यालाई प्रस्तुत गर्न खोज्नुभएको छ । एकजना पत्रकारभित्र रचनात्मकता र कलात्मकतालाई प्रस्तुत गर्ने प्रयासमा विनोदबाबु सफल हुनुभएको छ । एकान्तबासको अवधिमा पनि पत्रकारहरु क्रियाशील नै रहे । एकान्तबासको लामो अवधिमा पनि पत्रिका प्रकाशन भइरहे, रेडियो प्रसारण भइरहे, टेलिभिजन पनि प्रसारण भइरहे भने अनलाइनका माध्यमहरु मूलधारको मिडियाको रुपमा स्थापित भए । यसबीचमा एकजना सक्रिय पत्रकारले आफ्नो मात्रै नभएर समाजकै अनेकौं पक्षका बारेमा चिन्तन गरिरहेको एउटा उदाहरण हो विनोद बाबुको एकान्ताबास ।

चितवनका तीनजना पत्रकारको कृतिका बारेमा हेटौंडामा चर्चा हुनु पत्रकार भएकै कारण हाम्रा लागि हर्षको विषय हो । पत्रकारको साख अभिवृद्धिमा कृतिको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरेका छौं । समृद्ध समाज दैनिक परिवार पत्रकारको कृतिको प्रस्तुतीमा निक्कै उत्साहका साथ प्रस्तुत हुनेछ । र, अन्त्यमा चितवनका पत्रकारको सक्रियता आगामी दिनमा मकवानपुरका लागि प्रेरक मात्रै नभई इस्र्याको विषय समेत बन्ने अपेक्षा हामीले गरेका छौं ।

Exit mobile version