हेटौंडाः शिक्षकहित बचत तथा ऋण सहकारीको ११औँ वार्षिक साधारण सभा शुक्रबाट शुरु भएको छ । आजबाट सुरु भएको साधारणसभा आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सहकारी विभागको निर्देशनअनुसार सहकारीले शुक्रबारबाट सदस्यलाई सहभागी गराउन सुरु गरेको हो ।

सहकारीका अध्यक्ष सीताराम दाहालले सहकारीको हेटौंडा–२, ओमभवनस्थित कार्यालयमा पुस १० गतेदेखि पुस १८ गतेसम्म सदस्यलाई उपस्थित हुन तथा सल्लाह, सुझाव उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय परिषद् सदस्य रमेश लामिछानेले सभाको उद्घाटन गर्नुभएको हो । ६ सय ३६ जना सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी २८ लाख ३३ हजार रुपैयाँ रहेको सहकारीका सचिव अर्जुन पोखरेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार १ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरिएको छ भने १ करोड १६ लाख रुपैयाँ बचत संकलन गरिएको छ ।

सहकारीका अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, सहकारीका संस्थापक अध्यक्ष पुरुषोत्तम बानियाँ लगायतको आतिथ्य रहेको थियो ।