Home मुख्य समाचार प्रदेश सुशासन केन्द्रलाई परिणाममुखी काम गर्न निर्देशन

प्रदेश सुशासन केन्द्रलाई परिणाममुखी काम गर्न निर्देशन

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सुशासन केन्द्रलाई पाठ्यक्रममा आधारित भएर भन्दा पनि परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेशका जनप्रतिनिधि, स्थानीय तहका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने तालिम तालिमका लागि मात्र नभएर व्यवहारमा लागू हुनेगरी परिणाममुखी बनाउन केन्द्रलाई निर्देशन दिनुभएको हो । मंगलबार ललिपुरको जावलाखेलमा मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयअन्तर्गत् रहने प्रदेश सुशासन केन्द्रको कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

तालिम लिइसकेपछि जनप्रतिनिधि तथा कर्मचारीहरुले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागू गर्नुपर्ने उहाँले बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले संघीयतामा तीनै तहको सरकार नयाँ संरचनामा भएपनि परिणाम दिनसक्ने गरी काम गर्न प्रदेश सुशासन केन्द्रलाई भन्नुभएको छ । केन्द्रले सुशासन प्रवद्र्धन र संघीयताको कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य, सहअस्तित्वको सिद्धान्तलाई सुदृढीकरण गर्न टेवा पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो ।

केन्द्रले मानव संशाधन विकास तथा संस्थागत क्षमता विकास गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले पाठ्यक्रमको कोर्समात्रै भन्दा पनि व्यवहारमा लागू हुनेखालका तालिम वा प्रशिक्षण दिनुपर्ने बताउनुभयो । उहाँले केन्द्रले परिणाम दिन नसके केन्द्रको कार्यालय खुल्नुको कुनै औचित्य नहुन भन्दै जोस र जाँगरका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बागमती प्रदेशको प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले सुशासनका लागि आवश्यक पर्ने पाठ्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायतको क्षमता अभिवृद्धि गर्न व्यवहारमुखी तालिमहरु प्रदान गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले केन्द्रले संघीय गणतन्त्र, लोकतन्त्रमा भएका समस्याहरु के-के हुन् त्यसका चुनौती र समाधानसहितको पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभएको छ ।

सभामुख श्रेष्ठले मुख्यरुपमा जनशक्तिको क्षमता अभिवृद्धि गर्नलाई पुरानो ढर्रामा रहेर काम गर्न नहुने बताउनुभयो । उहाँले समयसापेक्ष प्रदेश सरकारले रोजगारी, शिक्षा, स्वास्थ्यलगायतको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो । उहाँले पहिलेका गाविस सचिवले चलाएको जस्तो कार्यालय नभएको भन्दै जनप्रतिनिधिहरुलाई नै सक्षम बनाउनुपर्ने बताउनुभयो । जब जनप्रनिधिहरु र कर्मचारीहरु सक्षम हुन्छन्, तबमात्रै देशमा संघीयता पूर्ण कार्यान्वयनमा आउने सभामुख श्रेष्ठको भनाई छ ।

प्रदेश सुशासन केन्द्रले कार्यालय स्थापना गरेर काम गर्न सुरु गरेता पनि औपचारिकरुपमा मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो । चालु आर्थिक वर्षमा केन्द्रले प्रदेशका मन्त्रालयका अधिकृत तहका कर्मचारीहरुलाई र स्थानीय तहका जनप्रतिनिधिहरुलाई ४ वटा तालिम सञ्चालन गरेको छ ।

केन्द्रका निर्देशक दीपेन्द्र सुवेदीले प्रदेशमा कर्मचारी र जनप्रनिधिहरुको क्षमता विकास गर्न आवश्यक पाठ्यक्रम तयार भएको जानकारी दिनुभयो । निर्देशक सुवेदीले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको कार्यक्षमता र व्यावसायिकता अभिवृद्धि गर्न आवश्यक तालिम, प्रशिक्षण, कार्यशाला, गोष्ठी, अन्तरक्रिया, अनुभव आदानप्रदान तथा आवश्यकतामा आधारित रहेका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । केन्द्रले संघीयता, स्थानीय शासन प्रवद्र्धन, जनकेन्द्रित विकास, सार्वजनिक सेवा प्रवाहमा नवीनतम सूचना प्रविधिको प्रयोगजस्ता समसामयिक विषयमा अनुसन्धान गर्नुका साथै आवश्यकताअनुसार सम्बन्धित सरोकारवालाहरुलाई परामर्श सेवासमेत दिने बताउनुभयो ।
कार्यक्रमा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, संघीय सामान्य प्रशासन मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version