Home कला आउँदै छ दिन साइला दाइ !

आउँदै छ दिन साइला दाइ !

सिएम रिमाल हेटौंडा

हर बिहान
बासी समाचारमा तल्लीन
पल्ला घरे साइला दाइ
आफ्नो निद्रा भागेर
त्यही एक मुठी सास
र एक छाक गासका लागि
खुट्टा नतन्किएसम्म
गाउँदै छन् अझै
मुखियाको भजन

के फरक छ र मुखिया र
उनको जीवनमा ?
मृत्युलाई धकेली धकेली
मृत्युकै जङ्घारसम्म
साइला र मुखियाले
काट्ने समय, बिताउने जीवन,
बच्चा जन्माउने प्रक्रिया,
लाज ढाक्न पहिरिने कपडा
र जलाउने आगोमै ?

मुखियाको बोक्रे दर्शन
अनि फुस्रा आदर्शलाई
छोडाउने हो भने
मुखिया पनि नाङ्गै
आज सत्यता लुकाउन
पहिरिरहेको छ उही कपडा
मिथ्यै मिथ्याको
उदेकलाग्दो जीवनमा मुखियाले ।

हजारौं साइला दाइहरु
आज गन्तव्यविहीन यात्रामा
बाध्य छन् बिना कक्ष
फनफनी घुम्न
त्यही समाजभित्र आफैँलाई
बारम्बार खोजिरहेछन्
आफैँलाई नभेटेर
नाचिरहेका छन्
कठपुतलीझैँ इसारामा

एकदिन अवश्य
लाखौँ साइला दाइहरुले
पड्काउने छन् बारुद
सल्काउने छन् भुसको आगो
दन्काउने छन् राँको
चकनाचुर पार्ने छन् सपना
छर्लङ्ग ऐनाझैँ
ती जुका बनी
ढाडिएकाहरुको मष्तिस्कमा

Exit mobile version