पर्याप्त सार्वजनिक शौचालयको माग गर्दै बिहीबार हेटौंडा उपमहानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गर्दै विवेकशील नेपाली दलका नेता, कार्यकर्ताहरु ।

हेटौंडाः विश्व शौचालय दिवसका दिन बिहीबार विवेकशील नेपाली दलले हेटौंडा उपमहानगरपालिका अगाडि प्रदर्शन गरेको छ । महिलामैत्री, अपाङ्गमैत्री शौचालयको माग गर्दै हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि बिहीबार प्लेकार्ड र व्यानरसहित विवेकशील नेपाली दलका नेता, कार्यकर्ताले प्रदर्शन गरेका हुन् । विवेकशील नेपाली दल मकवानपुरले नगरक्षेत्रमा महिलामैत्री, अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

हेटौंडा उपमहानगरक्षेत्र खुला दिसापिसाबमुक्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा कम्तिमा पाँच सय मिटरको दूरीमा अपाङ्गमैत्री, लैंगिकमैत्री सार्वजनिक शौचालय हुनुपर्ने, सार्वजनिक शौचालयको सरसफाईका लागि जनशक्ति व्यवस्थापन गर्नुपर्ने, विद्यालय तथा सरकारी कार्यालयमा पनि पर्याप्त शौचालय निर्माण गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मेयरलाई ज्ञापनपत्र बुझाएर नेपाली दलका केन्द्रीय सदस्य प्रतिभा डंगोल, मकवानपुर जिल्ला सचिब गोपाल घिमिरे, जिल्ला सदस्य विष्णु केसी लगायत प्रदर्शनमा सहभागी भएका थिए । अर्को वर्षको शौचालय दिवस मनाउने समयमा आफ्ना माग पूरा गर्न विवेकशील नेपाली दल मकवानपुरले आग्रह गरेको छ । पर्याप्त र सफा शौचालयको व्यवस्था नगरको सभ्यताको विषय भएको उल्लेख गर्दै विवेकशील नेपाली दल मकवानपुरले हेटौंडा उपमहानगरक्षेत्रमा शौचालयको अभाव रहेको औँल्याएको छ ।