हेटौंडाः काठमाडौंमा रहेर कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मस्तिष्कको नसा सुन्निएर शल्यक्रिया गर्ने क्रममा बिहीबार बिहान काठमाडौंस्थित न्यूरो अस्पतालमा गौतमको निधन भएको हो । बिहीबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गौतमको अन्येष्टि गरिएको छ ।
केहीदिन अघि स्वास्थ्य समस्या भएर नर्भिक अस्पतालमा उपचारका लागि गएका गौतमको मस्तिष्कको नसा फुलेको पाइएको थियो । बुधबार साँझबाट न्यूरो अस्पतालमा शल्यक्रिया सुरु गरिएको थियो । मकवानपुरको बकैया गाउँपालिकाका गौतम उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौं रहेर कान्तिपुर दैनिकमा कार्यरत थिए ।
हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा दश जोड दुई तह र स्नातक तहमा पत्रकारिता अध्ययन गरेका गौतमले काठमाडौंस्थित रात्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट आमसञ्चार तथा पत्रकारिता विषयको स्नात्तकोत्तर तह अध्ययन पूरा गरेर कान्तिपुर दैनिकमा कार्यरत थिए ।