सिद्धार्थ माविमा परीक्षा दिन आएका विद्यार्थीको ज्वरो मापन गर्दै । सँगै हेल्थ डेस्क पनि ।

हेटौंडाः मकवानपुरका विद्यालयहरुमा कक्षा ११ को वार्षिक परीक्षा सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गत बैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । कोरोना भाइरस सङ्क्रमण कायमै रहँदा राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले नै परीक्षा लिने व्यवस्था गरेपछि मकवानपुरका विद्यालयहरुले परीक्षा लिन सुरु गरेका हुन् ।

आधुनिक राष्ट्रिय माविमा परीक्षा दिन आएका विद्यार्थीलाई स्यानिटाइजर प्रदान गरिँदै ।

आइतबारबाट हेटौंडाको सिद्धार्थ मावि, भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, प्रगति मावि, मनहरीको राष्ट्रिय रोटरी मावि, बागमती गाउँपालिकाको जनता माविले परीक्षा लिन सुरु गरेको छ । विद्यालय आफैंले प्रश्नपत्र बनाएर परीक्षा लिन थालेको छ । केही विद्यालयले गत सातादेखि नै परीक्षा लिन सुरु गरेपनि अधिकांश विद्यालयले आइतबारबाट परीक्षा लिन सुरु गरेका छन् । मकवानपुर जिल्लामा कक्षा ११ र १२ पठनपाठन हुने ४८ वटा शैक्षिक संस्था छन् । कक्षा ११ मा नियमिततर्फ पाँच हजार १३ विद्यार्थी र ग्रेडवृद्धितर्फ दुई हजार आठ सय ८७ विद्यार्थीले परीक्षा फारम भरेको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयले जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माविमा परीक्षा दिन आएका विद्यार्थीको ज्वरो मापन गर्दै ।

राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले स्वास्थ्य सम्बन्धी सतर्कता अपनाएर परीक्षा सञ्चालन गर्न यथाशिघ्र विद्यार्थीको प्राप्ताङ्क पठाउन विद्यालयहरुलाई जानकारी गराइएको बताउनुभएको छ । विद्यालयहरुले परीक्षामा सहभागी हुन आउने विद्यार्थीको ज्वरो नाप्ने, मास्क प्रयोग गर्न अनिवार्य गर्ने, भौतिक दूरी कायम राख्ने र विद्यार्थीहरुलाई भौतिक दूरी कायम हुने गरी सिट व्यवस्थापन गरेको जनाएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविले दुई वटा ब्लकमा परीक्षा सञ्चालन गरेको छ । एउटा बेञ्चमा एकजना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गरेको जनाएको छ ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविमा परीक्षा दिँदै विद्यार्थीहरु ।

सिद्धार्थ माविमा नियमिततर्फ परीक्षा फारम भर्ने एक सय ९४ जना विद्यार्थीमध्ये एक सय ८० जना सहभागी भएको र ग्रेडवृद्धितर्फ ६५ जना विद्यार्थीले परीक्षा फारम भरेकोमा २६ जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका छन् । परीक्षा दिन विद्यालय आएका विद्यार्थीको मूलगेटमै ज्वरो नाप्ने, मास्क लगाउन दिने, स्यानिटाइजर लगाउन लगाउने गर्नुका साथै विद्यालयले हेल्थ डेस्क समेत स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले जानकारी दिनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविमा परीक्षा दिन आएका विद्यार्थीको लाइन ।

यस्तै हेटौंडा–९ स्थित प्रगति माविमा नियमिततर्फ परीक्षा फारम भरेका ६० जना मध्ये ५९ विद्यार्थीले परीक्षा दिएका छन् भने ग्रेडवृद्धितर्फ परीक्षा फारम भरेका ३० जना विद्यार्थी मध्ये २५ जना विद्यार्थी पहिलो दिनको परीक्षामा सहभागी भएको विद्यालय सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती माविले कक्षा ११ को परीक्षा लिइसकेको र जनता मावि र देवकी माविले आइतबारबाट परीक्षा सुरु गरेको जनता माविका प्रधानाध्यापक बसन्त राईले जानकारी दिनुभएको छ । जनता माविमा नियमिततर्फ एक सय र ग्रेडवृद्धितर्फ ३५ गरी एक सय ३५ जना विद्यार्थी मध्ये एक सय २१ जना विद्यार्थी परीक्षामा सहभागी भएको प्रधानाध्यापक राईले जानकारी दिनुभएको छ । विद्यालयमा भइरहेको परीक्षाको जनप्रतिनिधि र स्थानीय तहका अधिकारीले अनुगमन समेत गरेका छन् ।