Home मुख्य समाचार राक्सिराङ्ग गाउँपालिकाले एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा विपन्न परिवार खरको...

राक्सिराङ्ग गाउँपालिकाले एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा विपन्न परिवार खरको छाना प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्ने

हेटौंडाः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले खरको छाना प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यक्रम अनुसार एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा विपन्न परिवारलाई लक्षित गरेर खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार खरको छानो प्रतिस्थापन गर्न आवश्यक सामग्री र जस्ताको लगत सङ्कलन गरेर गाउँपालिकाले वडा कार्यालयमार्फत आवश्यक सामग्री वितरण गर्ने जनाएको छ । गाउँपालिकाले अहिले वडा कार्यालयमार्फत लगत सङ्कलनको कार्य सुरु गरेको छ । खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि गाउँपालिकाले २५ लाख र बागमती प्रदेश सरकारको २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लक्षित समूहले वडा कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् । चालु आर्थिक वर्षमा सञ्चालन गर्न लागेको यो कार्यक्रम गाँउपालिकाको नयाँ कार्यक्रम भएको र आगामी वर्षमा पनि निरन्तरता दिने प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

Exit mobile version