हेटौंडाः शुभकार्यमा साइत्को पर्खाई हुन्छ । शुभ समयमा सुरु गरिएको काममा सकारात्मक मनस्थिति रहन्छ र सफलताको अपेक्षा बढी गरिन्छ । यस्तै शुभ समयको रुपमा नेपालीहरुको वर्षकै प्रमुख पर्वको रुपमा वडा दशैंलाई लिइन्छ । यस वर्ष कोरोना कहरका कारण समाजका हरेक क्षेत्र प्रभावित भइरहेका बेला हेटौंडा बजारमा नयाँ लगानीमा व्यवसाय सुरु गरिएको छ ।मङ्गलबार बिहान हेटौंडा–१०, मेनरोडमा मिठाई तथा शाकाहारी खाजा तथा खानाको होटल राजधानी स्विट्स सञ्चालनमा आयो ।

निर्माण क्षेत्रमा क्रियाशील युवाले संयुक्त रुपमा राजधानी स्विट्स सञ्चालनमा ल्याएका हुन् । स्थीर किसिमको व्यवसाय गर्ने र नियमित कारोबार हुने देखेर होटल व्यवसायमा लगानी गरेको सञ्चालक अजय सापकोटाले बताउनुभयो । प्रदेशको राजधानी भएपछि हेटौंडा बजारक्षेत्रमा बढ्दो चहलपहलमा होटल व्यवसायको सम्भावना रहेको सापकोटाको भनाइ छ । मङ्गलबार बिहान बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले होटेलको उद्घाटन गर्नुभएको हो ।

यस्तै हेटौंडा–४, स्कूलरोडमा पनि मङ्गलबार बिहान मोवाइल मर्मत तथा विक्री केन्द्रको रुपमा द सिलिकन सोलुसनले शाखा विस्तार गरेको छ । १३ वर्षदेखि मोवाईल मर्मतको क्षेत्रमा परिचित सिलिकन सोलुसनले सेवाग्राहीको सहजताका लागि शाखा विस्तार गरेको सञ्चालक छतेन्द्र आचार्यले जानकारी दिनुभएको छ । यस्तै कात्तिक १ गते हेटौंडा–४, स्कूलरोडमै सिरिशा मोवाइल हब पनि सञ्चालनमा आएको छ । मोवाइलको बढ्दो व्यापारका बीच मोवाईल पसल सञ्चालनमा ल्याएको सञ्चालक अनिष विष्टले जानकारी दिनुभएको छ ।