हेटौंडाः कोरोना सङ्क्रमित हेटौंडा–९ का दुई जना वृद्धको बुधबार साँझ मृत्यु भएको छ । एक जनाको चितवनस्थित मेडिकल कलेजमा र एकजनाको घरमै मृत्यु भएको ९ नम्बर वडा अध्यक्ष लक्षमणप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । वडाअध्यक्ष भण्डारीका अनुसार बुधबार साँझ ७७ वर्षीय वृद्धको घरमै मृत्यु भएको हो भने ६८ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
चितवनमा मृत्यु हुने वृद्धको कोरोना सङ्क्रमण पुष्टि भएर उपचारको क्रममा मृत्यु भएको र अर्का वृद्धको भने स्वाब परीक्षणका लागि बुधबार बिहानै पठाइएको भए पनि मृत्युपछि मात्रै सङ्क्रमण पुष्टि भएको हो । विरामी भएर घरमै रहेका वृद्धको छोरामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहानै स्वाब संकलन गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । बुधबार साँझ मृत्यु भएपछि मात्रै वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभएको छ ।